बजारमा काचो सुनको मौज्दात सकियो : नेपाल बैंकर्स एसोसिएसन
वि.सं.२०७९ वैशाख २ शुक्रवार १३:१०
shares

काठमाडौं । विवाहको मुख्य सिजनमै बजारमा काचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको एसोसिएसन उच्च स्रोतले बतायो । ‘सुन आयात नभएको ११ दिन भयो, गत शुक्रबार सम्म १६ किलो मौज्दात थियो ।’ स्रोतले भन्यो ‘आज शुक्रबार सम्म लगभग रित्तियो ।’
चैत २१ अघि सम्म काठमाडौं उपत्यका भित्र ५ र बाहिर ५ किलो वितरण गर्ने गरी बैंकहरुले दैनिक १० किलो सुन आयात गर्थे । बैंकर्स एसोसिएसनकाअनुसार २२ वटा वाणिज्य बैंकले दैनिक पालो-पालो कोटाको सुन आयात गर्ने गरेका थिए । बजारमा नयाँ गहना बनाउने सुन अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले पुष्टि गरेको छ । बैंकहरुलाई सुन लगायतका वस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन पछि सुनको आयात ठप्प भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
‘बजार अहिले नयाँ सुन छैन, गहना बनाएका रेडि-मेड सुन मात्रै हो,’ महासचिव बज्राचार्य भन्छन्, ‘आफ्नो रोजाइको गहना बनाउन अब उपभोक्ताले आफैं सुन ल्याउनु पर्छ ।’ वैशाख लागे लगत्तै बिहेको लगनको महिना सुरु भएपछि सुनको माग बढेको तर, सुन भने नभएको बज्राचार्यले बताए । विदेशी मुद्रा सञ्चिति घटेको भन्दै गत चैत २१ गते राष्ट्र बैकको बैंकका कार्याकारी प्रमुखहरु बोलाएर सवारी साधनसहितका एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) जारी नगर्न मौखिक निर्देशन दिएको थियो ।




































