नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर भएको विवाद समाधान, कांग्रेसले पाउने भयो नेपालगञ्ज
वि.सं.२०७९ वैशाख ७ बुधवार १६:३५
shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ । आज बुधबार बसेको सत्तारुढ गदलको शीर्ष नेताको बैठकले नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको हो ।
यो सँगै स्थानीय चुनावका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागवण्डा टुंग्याएको छ । सबै महानगरपलिका र उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धन भित्र सहमति जुटेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ । नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । यी बाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ ।
सत्तारुढ गठबन्धनले महानगरपालिकाको भागवण्डा मंगलबार नै टुंग्याएका थिए । महानगर र उपमहानगरपालिकाको नेतृत्व भागवण्डाको सहमतिपत्रमा बुधबार हस्ताक्षर हुने नेताहरुले बताएका छन् ।



































