राष्ट्र बैंकको अध्ययन : ११ देखि १५ वटा वाणिज्य बैंक मात्र आवश्यक
वि.सं.२०७९ वैशाख १२ सोमवार १०:२२
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले नेपालमा ११ देखि १५ वटा सम्म मात्र वाणिज्य बैंक आवश्यक रहेको देखाएको छ । उक्त अध्ययनले नेपालमा न्यूनतम ११ वटा उपयुक्त हुने र अधिकतम १५ वटा सम्म वाणिज्य बैंक राख्न सकिने देखाएको हो | सो अध्ययनका लागि राष्ट्र बैंकले २३० जना छनौट गरेको थियो जसमा १४० बैंक तथा वित्तीय संस्था र ९० विज्ञ सहभागी थिए । यस अध्ययनमा बैंक तथा वित्तीय संस्थाका सीइओ, डेपुटी सीइओ, कार्यबाहक सीइओ, संचालक, र अन्य उच्च ब्यबस्थापक रहेका थिए । सहभागी भएका अधिकांशले नेपालका लागि वाणिज्य बैंकको संख्या घटाउनुपर्ने सुझाव दिएका हुन् । बैंक तथा वित्तीय संस्थाको तर्फ बाट सर्भेमा सहभागी भएका १४० जना मध्ये ८४% र विज्ञ मध्ये ७८% ले वाणिज्य बैंकको संख्या आवश्यकता भन्दा बढी रहेको बताएका हुन् । हाल नेपालमा वाणिज्य बैंकको संख्या २६ वटा रहेको छ ।
अध्ययनका क्रममा २०% सरोकारवालाहरुले नेपालमा वाणिज्य बैंकको संख्या घटाएर ५ देखि १० वटा बनाउनुपर्ने सुझाव दिएका थिए, १५% सरोकारवालाले १६ देखि २० वटासम्म वाणिज्य बैंकको आवश्यकता रहेको उल्लेख गरेका थिए भने बाँकी २० देखि २५ वटा सम्म आवश्यक रहेको पक्षमा थिए | त्यस्तै, अध्ययनका क्रममा सहभागीहरुले विभिन्न छुट लगायतका इन्सेटिभ प्याकेज सहितको मर्जर प्रभावकारी हुने बताएका थिए । ५७% सहभागी इन्सेटिभ सहितको मर्जरको पक्षमा उभिएका थिए भने २०% ले फोर्स मर्जरको पक्षमा उभिएका थिए । १७% सहभागीले स्वस्फूर्त मर्जरमा जाने वातावरण बन्नुपर्ने पक्षमा उभिएका थिए भने बाँकीले पूँजी वृद्धिको बाटो बाट मर्जरको नीति लागू गर्नुपर्ने पक्षमा रहेका थिए ।
त्यस्तै अध्ययनमा सहभागी मध्ये ६१% ले कमजोर बैंक र बलियो बैंक बीच मर्जर हुनु पर्ने उल्लेख गरेका थिए । २०% साना र ठुला बैंक बीच मर्जर हुनु पर्ने, ९% साना बैंकहरु बीच मर्जर हुनु पर्ने र बाँकी सहभागीहरु कमजोर बैंकहरु बीच मर्जर हुनु पर्ने पक्षमा थिए | उक्त अध्ययनमा सहभागी मध्ये ७९% ले मर्जरका लागि वित्तीय संस्थाहरुको जोखिम बहन गर्ने क्षमता बढेको देखिएको छ । त्यस्तै, मर्जरपश्चात ६७% ले लगानी गर्ने क्षमता बढ्ने भनेका थिए भने ५१% ले स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन सहयोग गर्ने जनाएका थिए । साथै, मर्जरपछि ५२% ले प्रति कर्मचारी संचालन खर्च घट्ने, ५०% ले प्रति कर्मचारी संचालन मुनाफा बढ्ने र ६२% ले कर्मचारीको प्रोडक्टिभिटी बढ्ने उल्लेख गरिएको थियो । अध्ययनले मर्जरपछि निकै राम्रो क्रेडिट ग्रोथ भएको, निक्षेपको आकारमा वृद्धि भएको, आम्दानी गर्नसक्ने शक्ति अझ बलियो बनेको र जोखिम व्यवस्थापन क्षमतामा वृद्धि भएको देखाएको छ ।






































