आईजीपी बिरूद्धको मुद्दा हेर्दाहेर्दैमा
वि.सं.२०७९ वैशाख २१ बुधवार १६:५९
shares

काठमाडौं ।आईजीपी नियुक्ति प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । आईजीपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज गर्न परमादेशको माग गरेका थिए ।
सो रिट उपर इजलासमा पोखरेलको तर्फ बाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादव लगायतले बहस गरेका थिए भने सिंहको तर्फ बाट महान्यायाधिवक्ता खम्मबहादुर खाती सहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए । बहसको क्रम अझै नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
आईजीपी नियुक्ति बारे असन्तुष्ट अर्का एआईजी सहकुल बहादुर थापा भने काममा फर्किन सहमत भएका थिए। यता मन्त्रिपरिषद्को निर्णय प्रति असहमति राखेका विश्वराज पोखरेलले ३० दिन लामो बिदा लिएका छन् । उनी आज अदालतको बहस चल्दै गर्दा इजलासमा भने उपस्थित भएका थिए । आईजीपीको प्रतिस्पर्धामा रहेका विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना अघि एआईजीमा बढुवा भएका थिए । सहकुल थापा नवनियुक्त आईजीपी सिंह भन्दा ९ महिना अघि एआईजी भएका हुन् । आईजीपी सिंह र रवीन्द्र बहादुर धानुक १ महिना अघि एआईजीमा बढुवा भएका थिए ।
आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भए पनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मङ्सिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् । २०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो ।






































