नेपाली कांग्रेस जनता माथि विश्वास नगर्ने दल भएको अध्यक्ष ओलीको आरोप
वि.सं.२०७९ वैशाख २५ आइतवार १२:१४
shares

काठमाडौं ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस जनता माथि विश्वास नगर्ने दल भएको आरोप लगाएका छन् । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रमुख सत्तारुढ नेपाली कांग्रेसको चर्को आलोचना गरेका छन् ।
‘कांग्रेस एमाले सँग कहिल्यै सहकार्य गर्न चाहँदैन । यस्तो सोच्नु पनि अपराध ठान्छ,’ उनले भने, ‘उसले राणा शाही सँग सहकार्य गरेको इतिहास छ । नेपाली कांग्रेसले निरंकुश राजतन्त्र सँग आफ्नो घाँटी जोडिएको घोषणा गरेको सर्वविदितै छ । कांग्रेसको नीति र अकर्मण्यताका कारण सशस्त्र द्वन्द्वका लागि मार्ग प्रसस्त भएको यथार्थ हो । कांग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन ।’
उनले अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरू सँग घाँटी जोडेर कांग्रेसले गठबन्धन सरकार चलाएको बताए । ‘ऊ जनादेशमा विश्वास गर्दैन । सकेसम्म मुद्दा मामिला, छलकपट, षडयन्त्र र मिलावट बाटै सत्ता भोग गर्न चाहन्छ,’ उनले भने, ‘आफूलाई लोकतान्त्रिक शक्ति भन्दै लोकतन्त्रको चरम उपहास गर्दा पनि उसलाई लज्जाबोध हुँदैन, ऊ जनता माथि विश्वास गर्दैन ।’
देशको समृद्धि विकासलाई कांग्रेस उल्टो सपना र कोरा गफ भन्ठान्ने भन्दै उनले उसका लागि सुल्टो भनेको परिवार, नातेदार, गुट र अवसरवादीको हित र सदभाव मात्रै रहेको बताए । कांग्रेस देशलाई गरिबी विपन्नता, अभाव लघुताभाष र अनिश्चयको दुश्चक्रमा राखेर जनता माथि शासन गर्न चाहेको आरोप ओलीले लगाए ।
‘देशको समृद्धि विकासलाई कांग्रेस उल्टो सपना र कोरा गफ भन्छ । ठीकै पनि हो, उसका लागि त झूट सुल्टो भनेको परिवार नातेदार गुट र अवसरवादीको हित र सद्भाव नै हो । कांग्रेस देशलाई गरिबी विपन्नता, अभाव लघुताभाष र अनिश्चयको दुश्चक्रमा राखेर जनता माथि शासन गर्न चाहन्छ’ उनले भने ।






































