निर्वाचन आयोगले आरजुको निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्ति बारे छानबिन थाल्यो
वि.सं.२०७९ वैशाख २५ आइतवार १२:४८
shares

काठमाडौं ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्ति बारे निर्वाचन आयोगले छानबिन थालेको छ ।
आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । सम्भवतः आइतबार नै उनी माथि स्पष्टीकरण सोध्नेछ । ‘हाम्रो आन्तरिक अध्ययन र उजुरी समेतका आधारमा उहाँका दुई विवादास्पद अभिव्यक्ति नोटिसमा आएको छ । दुवै अभिव्यक्ति आचारसंहिताको उल्लंघन देखिन्छन्’ आयोग स्रोतले भन्यो, ‘आजै प्राप्त हुने प्रतिवेदनलाई आयोगको बैठकमा पेस हुने र सोधपुछ गरिनेछ ।’
कांग्रेस नेतृ राणाले सुदूरपश्चिम प्रदेशका स्थानीय तह भ्रमणका क्रममा विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले डडेल्धुरामा कुनै स्वतन्त्र उम्मेदवारको नाम लिई त्यसमा मत नदिन आग्रह गरेकी थिइन् भने कांग्रेसका उम्मेदवार निर्वाचित नहुने स्थानीय तहमा बजेट कटौती हुने भन्दै विचार गर्न आग्रह गरेकी थिइन् । त्यसपछि उनले कैलालीमा निर्वाचन प्रचारप्रसारका क्रममा आफूहरुलाई सहयोग गर्ने युवाहरु मध्ये केहीलाई छानेर ‘फ्री भिसा, फ्री टिकट’मा मलेसिया रोजगारमा पठाउने आश्वासन दिएकी थिइन् ।
उनी सांसद बाहेक राज्यको पदमा नरहेकाले सर्वसाधारणको हैसियतमा सोधपुछ गर्ने आयोगको तयारी छ । प्रतिनिधिसभा सदस्य-सांसदलाई निर्वाचन प्रचारप्रसारमा संलग्न हुने रोक नभए पनि आचारसंहिताले बन्देज लगाएका क्रियाकलाप गर्न पाइँदैन ।





































