kumari
stcnepal

निर्वाचनका दिन पानी पर्न सक्ने, सतर्कता अपनाउन सुझाव

काठमाडौं ।जलवायुविद्ले स्थानीय तह निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बंगालको खाडीमा यही वैशाख २२ गते देखि उत्पन्न न्यूनचापीय प्रणाली आइतबार समुद्री आँधीका रूपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले पूर्वतयारी गर्न विज्ञले सुझाव दिएका हुन् ।

जलवायुविद् डा. धर्मराज उप्रेतीले आसानी नाम दिइएको उक्त आँधी निकै तीव्र गतिमा चलेको बताए । सो आँधीको असर भारतको उडिसा लगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गते देखि प्रभाव देखिने उनले बताए । वैशाख ३० गते स्थानीय तह निर्वाचनका दिन बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण विशेषगरी पूर्वी नेपालमा वर्षा गराउने उनको भनाइ छ ।

“२५ गते देखि बंगालको खाँडीमा न्यूनचापीय अवस्था समुद्री आँधीका रूपमा विकसित भएको छ । यो न्यूनचापीय अवस्था वैशाख २२ गते देखि उत्पन्न भएको थियो । न्यूनचापीय अवस्था विकसित हुँदै गर्दा आज देखि त्यसले समुद्री आँधीको रूप लिएको छ । जसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधीको नाम दिएको छ,” उनले भने, “त्यो समुद्री आँधीको प्रभाव नेपालको पूर्वीय भागमा खास गरेर वैशाखको २७ गते राति देखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिले सम्मको आकलन बाट देखिएको छ ।”

उनले थपे, “वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो साता सम्म बढी पानी पर्ने अवस्था थियो । र, अहिले नयाँ प्रणालीले गर्दाखेरी हाम्रो चुनावको मुखमा पानी पर्ने र चुनावको मुखमा पानी पर्दाखेरी त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्न सक्ने भएको हुनाले पहिला देखि नै पूर्वतयारी गर्नुपर्छ होला भन्ने एउटा सुझाव ।” जलवायुविद् डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायत सामग्रीको सुरक्षामा ध्यान दिन सुझाव दिएका छन् ।

 

 

 

footer