सबै मतगणना केन्द्रमा सिसिटिभी क्यामरा जडान गर्न मतदान अधिकृतहरूलाई आयोगको निर्देशन
वि.सं.२०७९ वैशाख २६ सोमवार १३:४३
shares

काठमाडौं ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवाद रहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ । नेपालको संविधान घोषणा भएपछि हुन लागेको दोस्रो निर्वाचनले संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई अझै परिस्कृत गर्दै लैजानेमा धेरै मतैक्य छ । सोही क्रममा आयोगले स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा) को प्रबन्ध गरेको छ ।
मतगणनाको क्रममा हुने अवाञ्छित गतिविधि रोक्न र विवाद कम गर्ने उद्देश्यका साथ सीसी क्यामेराको प्रबन्ध गरिएको हो । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भएकाले सीसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो । सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरेको थियो । आज या भोलि सम्म सबै पालिकामा त्यस्तो क्यामेरा जडान भइसक्नेछ । कूल ३५० पालिकामा यसअघि नै सीसी क्यामेरा जडान भइसकेको छ ।
त्यस्तै ५० पालिकाले आफूखुशी आयोगको भीएमएस सिस्टम सँग जडान नहुने सीसी क्यामेरा जडान गरेको पाइएकाले त्यसलाई पनि सोही प्रणालीमा जडान हुने गरी क्यामेरा प्रबन्ध गर्न भनिएको छ । त्यस्तो कार्य वैशाख २९ गते सम्म पूर्णरुपमा सम्पन्न गर्न निर्देशन दिइएको छ ।आयोगले जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका निर्वाचन अधिकृतलाई त्यस्तो निर्देशन गरेको हो । सबै मतगणनास्थलको प्रत्यक्ष दृश्य आयोगको बहादुर भवन स्थित कार्यालय बाटै हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । यसबाट निर्वाचनको विश्वसनीयतामा समेत वृद्धि हुने र कुनै अवाञ्छित गतिविधिले प्रश्रय नपाउने विश्वास लिइएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले यसअघि नै कुनै कुनै पालिकामा उक्त क्यामरा राख्नैपर्ने नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएको बताएका थिए । गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनःमतदान समेत भएको थियो । निर्वाचनका लागि कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।



































