संघीय चुनावमा एमालले अहिलेको स्थानीय तहमा भन्दा ठूलो पराजय भोग्ने माओवादी नेता पुनको दाबी
वि.सं.२०७९ जेठ २ सोमवार १३:३२
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संघीय चुनावमा एमालले अहिलेको स्थानीय तहमा भन्दा ठूलो पराजय भोग्ने दाबी गरेका छन् । रोल्पाको लिवाङमा आयोजित विजय सभालाई सम्बोधन गर्दै गर्दै उनले यस्तो दाबी गरेका हुन् । लिवाङ नगरपालिको मेयरमा माओवादीका सुरेन्द्र घर्ती विजयी भएका छन् । उनको विजयपछिको सभालाई सम्बोधन गर्दै नेता पुनले भने देशभरको परिणामलाई नियाल्दा स्थानीय तहमा एमालेले ०७४ को तुलनामा केही पराजय भोगेको बताए ।
‘यो त स्थानीय चुनाव हो, संघ र प्रदेशमा यो भन्दा लज्जास्पद हुनेछ । एमालेका लागि ठूलो पराजय हुने यसले पनि देखाउँछ’ नेता पुनले थपे, ‘माओवादीलाई कसैले हेप्छ भने उ स्वयं नै पछारिन्छ भन्ने इतिहासले पटक–पटक पुष्टि गरेको छ ।’ नेता पुनले एमाले महासचिव शंकर पोशखेलले धाँधली भयो भन्दै आइतबार जारी गरेको विज्ञप्तिको पनि खण्डन गरे ।
‘हिजो मात्रै हामीले दुःख समाचार पनि सुन्यौं । नेकपा एमालेका महासचिवले निर्वाचन सकिएको तीन दिनपछि धाधली भयो भन्नु भएछ’ पुन भन्छन्, आश्चार्यको कुरा ६० प्रतिशत एक्लै जित्छौं भन्ने साथीहरु तीन दिनपछि आएर धाधली भयो भन्नुहुन्छ । यो जनता माथिको अपमान हो ।’ एमालेले धाँधली भयो भन्दै विज्ञप्ति निकाल्नु अहिलेको नयाँ व्यवस्था, लोकतान्त्रिक व्यवस्था माथिको प्रहार र सचेत नेपाली जनताको अभिमत प्रति अपमान भएको भन्दै उनले एमालेको विज्ञप्ती प्रति खेद घोर भत्र्सना गरेको बताए ।
‘आफू जिते लोकतान्त्रिक, आफू जिते महान । हार्ने बेला यस्तो खालको कुरा गर्नु यो राजनीतिक अवसरवाद हो । राजनीतिक बेइमानी हो’ पुनको भनाइ छ । नेता पुनले पाँच दलीय सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र नेकपा एकीकृत समाजवादी तर्फ संकेत गर्दै माओवादीलाई नहेप्न पनि सुझाव दिए । ‘प्रतिस्पर्धीले माओवादीलाई अब नहेपे हुन्छ । पटक–पटक पुष्टि भइसकेको छ कि माओवादी विचार भएको पार्टी हो । कार्यकर्ता भएको पार्टी, संगठन भएको पार्टी हो । नेतृत्व भएको पार्टी हो । बलिदान बाट आएको पार्टी हो’ उनले भने ।





































