एमालेलाई देखाएर कांग्रेसलाई तर्साउने रणनीतिमा दाहाल
वि.सं.२०७९ जेठ १९ बिहीवार १६:०१
shares

काठमाडौ । गत वैशाख ३० गते एकै पटक ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन सम्पन्न भएपछि सबै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसकेका छन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेपछि सत्ता गठबन्धनले गठबन्धन नै गरेर प्रदेशसभा र संघीय संसदको निर्वाचनमा जाने रणनीति लिएका छन् ।
पाँच वर्ष अघि दुई चरणमा गरी प्रदेशसभा र संघीय संसदको निर्वाचन मसिर १० र मंसिर २१ गते सम्पन्न भएको थियो ।
निर्वाचन सम्पन्न भईसकेपछि सांसदहरुले फागुन २० गते मात्र शपथ लिएका हुनाले वहालवाला सांसदहरुले पदावधि कहिले समाप्त हुने भन्ने अन्यौल रहेकोमा निर्वाचन आयोगले मंसिर २१ गते नै सांसदहरुलाई प्रमाणपत्र दिएको हुनाले आउँदो मंसिर २२ गते हाल वहाल रहेका सांसदहरुको पदावधि समाप्त हुने जानकारी प्रधानमन्त्रीलाई दिएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले अब कार्तिकको अन्तिम हप्ता वा मंसिरको दोस्रो हप्तामा प्रदेशसभा र संघीय संसदको निर्वाचन गराउनुपर्ने भएको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरुले अनौपचारिक रुपमा चुनाव सम्बन्धी छलफल चलाएका भएपनि औपचारिक रुपमा कुनै छलफल र बहस भएको छैन ।
प्रधानमन्त्री देउवा कार्तिकको अन्तिम हप्ता वा मंसिरको पहिलो हप्ताभित्रमा चुनाव गराउने पक्षमा रहेको कांग्रेस सूत्रको दाबी गरेको छ ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा गएका पाँच दल मध्येको नेपाली कांग्रेसले सबैभन्दा बढी फाइदा उठाएको हुनाले कांग्रेस अहिलेको गठबन्धनलाई कायम नै राखेर निर्वाचनमा जाने रणनीतिक उदेश्यका साथ अघि बढेको छ भने गठबन्धनमा रहेको माओवादी केन्द्रले समेत केही फाइदा उठाएको भएपनि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले भने गठबन्धनको नगन्य मात्र फाइदा उठाएका छन् ।
एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरुले कांग्रेस र माओवादी केन्द्रले सेटिङ्ग गरेर निर्वाचनमा गएका र आफूहरुलाई सहयोग नगरेको आरोप लगाएपछि कांग्रेसले त्यसलाई खण्डन गर्दै तल्लो तहसम्ममा गठबन्धनमा केही फरक नतिजा आएको भन्दै समग्रमा गठबन्धन सफल भएको बताएको छ ।
केही वाम बुद्धिजीविहरुले संघीय संसदको निर्वाचनमा सबै वामपन्थी दलले गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने आवाज उठाएका हुनाले कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा जुनसुकै सर्तमा पनि वापमन्थी गठबन्धन निर्माण हुन नदिने र अहिलेको गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जाने मनस्थितिमा रहेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई तर्साएरै फाइदा लिने पक्षमा रहेकाले गर्दा कांग्रेसले आफूले भनेको नमानेको खण्डमा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा जान सकिने बताउन थालेका हुनाले कांग्रेस आत्तिएको छ ।
राजनीतिक दलहरु एक्लाएक्लै निर्वाचनमा जाने मनस्थितिमा नरहेकाले गर्दा अहिलेको गठबन्धन टुट्न सक्ने सम्भावना न्यून रहेको छ । मधेशवादी दलहरु समेत स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएको हुनाले उनीहरु समेत अर्को गठबन्धनको पक्षमा रहेका भएपनि जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी बीचमा तालमेल हुन सक्ने सम्भावना निकै कमजोर रहेको छ ।
पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा केही फाइदा लिएपछि प्रदेशसभा र संघीय संसदको निर्वाचनमा समेत कांग्रेससँग बार्गेनिङ्ग गरेर धेरै भन्दा धेरै सिट लिन चाहिरहेको छ । त्यही वार्गेनिङ्गका लागि अध्यक्ष दाहालले कांग्रेसले घमण्ड गरेको खण्डमा उसलाई पनि एमालेकै हैसियतमा पु¥याईदिने धम्की दिन थालेका छन् ।
संघीय संसदमा जम्मा प्रत्यक्ष तर्फ १ सय ६५ सिट रहेकोमा कांग्रेसले १०० सिट लिन चाहिरहेको छ भने माओवादी लगायत गठबन्धनमा रहेका अन्य दलहरुलाई ६५ सिट दिने रणनीतिमा कांग्रेस रहेकोले गर्दा माओवादी केन्द्रले मागेको सिट संख्या ६० उसले पाउन सक्ने सम्भावना न्यून रहेको छ ।
कांग्रेसले माओवादी केन्द्रलाई बढीमा ३०–३५ सिट दिन सक्ने सूचना माओवादी केन्द्रका अध्यक्ष दाहालसमक्ष पु¥याईसकेको हुनाले त्यसैलाई काउन्टर दिन दाहालले कांग्रेसले घमण्ड गरे एमालेकै हैसियतमा पु¥याईदिने धम्की दिएको कांग्रेस सूत्रले बताएको छ ।
पाँच दलीय गठबन्धन नटुटेको अवस्थामा पाँच दलले जम्मा १ सय ६५ सिट बाँडफाँड गर्नुपर्ने सम्वैधानिक व्यवस्था रहेकोले गर्दा कांग्रेसले आफू कमजोर हुने गरी अन्य दललाई सिट दिन नहुने सुझाव कांग्रेसका नेताहरुले सभापति देउवालाई दिईसकेका छन् ।
निर्वाचन पछि कांग्रेसले एक्लै सरकार बनाउन सक्ने भएकाले गर्दा सरकार निर्माणका लागि आवश्यक पर्ने संख्या १ सय ३८ सांसद आफ्नो पार्टीका हुनुपर्ने अडानमा कांग्रेसका नेताहरु रहेका छन् ।
संघीय संसद (प्रतिनिधिसभा)मा जम्मा २ सय ७५ सांसद रहने सम्वैधानिक व्यवस्था रहेको र २ सय ७५ बहुमत १ सय ३८ हुने भएकाले गर्दा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी १ सय ३८ भन्दा माथिको सिट संख्या आफ्नो पार्टीको हुने गरी सिट संख्या बाँड्न सक्ने सम्भावना रहेपनि माओवादी केन्द्र र नेकपा एकीकृतले त्यसमा चित्त बुझाउन सक्ने सम्भावना न्यून रहेको छ ।
त्यसैगरी जनता समावादीले पनि अहिले उसको पार्टीमा रहेका सांसदहरुको संख्या भन्दा कम संख्यामा चित्त बुझाउन नसक्ने अवस्था देखिएकोले गर्दा माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीसँग गठबन्धन गरेर निर्वाचनमा जाने सक्ने सम्भावना समेत देखिएको छ ।
यदि त्यसो भएमा कांग्रेसले बहुमत ल्याउन नसक्ने आंकलन गरेर अध्यक्ष दाहालले कांग्रेसलाई तर्साएरै भएपनि आफ्नो पार्टीलाई धेरै सिट संख्या लिन सक्ने अवस्था समेत देखिएको छ । कार्तिक वा मंसिरमा निर्वाचन हुने निश्चित भई नसकेको भएपनि असारभित्रै गठबन्धनमा रहेका दलहरुले सिट संख्यामा बाँडफाँड गर्न सक्ने सम्भावना समेत देखिएको छ ।



































