सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
वि.सं.२०७९ जेठ २२ आइतवार १६:०६
shares

काठमाडौं ।प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाई राखेका हुन् ।
उनले मानव संसाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणा समेत राखे । प्रधानमन्त्री देउवाले भारत सँग महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमति भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिम प्रदेशको विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे । सो बन्दरगाहले सिधै भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोडने र त्यसले सुदूरपश्चिम प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाई थियो ।
प्रधानमन्त्री देउवाले भने, ‘अब यो सुदूरपश्चिममा ड्राइपोर्ट बनाउने भारत सरकार सँग सहमति भएको छ । महाकाली पारी दोधारा चाँदनीमा ड्राइपोर्ट भएको खण्डमा सिधै सुदूरपश्चिम प्रदेश भारतको बम्बई सँग कनेक्ट हुनेछ । सिधै बम्बई बाट मालसामान ल्याउन सकिनेछ । यसले त्यहाँको विकासमा सघाउ पुग्ने मैले विश्वास लिएको छु । भौगोलिक विकटता र लगानीको सुरक्षा नभएका कारण यस प्रदेशको विकास नभएको हो । अब लगानीको सुरक्षा हुन नसकेको खण्डमा यो प्रदेशलाई सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ । पछि परेको यो प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध छ ।’
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताए । उनले यस प्रदेशको विकासका लागि मानव संशोधनको विकासमा जोड दिनका लागि हातेमालो गरेर अघि बढन पनि सम्बन्धित सबै पक्षसँग आग्रह गरे ।




































