मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी चल्न थाले, चार दिन ठूला सवारी नचल्ने
वि.सं.२०७९ जेठ २७ शुक्रवार १५:१७
shares

काठमाडौं ।पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी चल्न थालेका छन् । सडक विभागले भित्ता तर्फको भाग काटेर विहान ११ बजे देखि साना सवारी पास हुने व्यवस्था गरेको हो ।
तर, यो सडक खण्डमा ठूला सवारी पास हुन करिब ४ दिन लाग्ने भएको छ । विभागका महानिर्देशक अजुर्नजंग थापाका अनुसार सडक भासिएको ठाउँमा ठाडो भीर छ । जहाँ कडा चट्टान भएकाले भित्त तर्फको भाग काटेर सडक बनाउनुपर्ने अवस्था छ ।
‘यस्तो अवस्थामा छिटो काम गर्ने प्रविधि छैन, अब ठूला बस ट्रक पास हुन करिब ३ देखि ४ दिन लाग्छ,’ उनी भन्छन्, ‘भित्ता तर्फको भाग काटेर बाटो दुई तर्फी चलाउँछौं ।’ उनका अनुसार केही सो सडक भएर ठूला यात्रुबाहक र मालबहाक सवारी आवातजावत गर्न पाउने छैनन् ।
सो स्थानमा गएको पहिरामा पुरिएका २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको थियो । पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको थियो ।





































