एमालेकी प्रदेश सभा सांसद गुलेफुन खातुन पद मुत्त
वि.सं.२०७९ असार ८ बुधवार १०:५७
shares

विराटनगर ।सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएकी नेकपा एमालेकी प्रदेशसभा सांसद गुलेफुन खातुन पदमुक्त भएकी छन् । जिल्ला र उच्च अदालत बाट भएको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी दोषी ठहरिएकी हुन् । प्रदेश १ की सांसद खातुनले मुद्दा दोहो¥याउन माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् । उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि उनी सर्वोच्च पुगेकी थिइन् । तर सर्वोच्चले उनको निवेदन खारेज गरिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले खातुनको निवेदनमा माग अनुसार दाबी नपुग्ने भन्दै मुद्दा दोहो¥याउन अनुमति नहुने आदेश दिएका छन् ।प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को उम्मेदवारको अयोग्यता सम्बन्धी दफा १३ (घ) मा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको व्यक्ति अयोग्य हुने भनिएको छ । दफा १६ मा पदमुक्तसम्बन्धी व्यवस्था अनुसार दफा १३ बमोजिम अयोग्य रहेको अदालत बाट ठहर भए त्यस्तो पदबाट मुक्त हुने उल्लेख छ ।
जिल्ला अदालत मोरङले २०७४ बैशाख ३१ गते नै उक्त मुद्दामा फैसला गरी कसुर ठहर गरेको थियो । त्यसपछि खातुनले जिल्लाको आदेशमा चित्त नबुझेको भन्दै उच्च अदालत विराटनगरमा ०७४ माघ ३० गते मुद्दा पुनरावेदनको निवेदन गरेकी थिइन् ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले २०७६ पुस ६ गते जिल्लाको फैसलालाई उल्टाउँदै बिगो बराबरको जरिवाना गर्ने फैसला सुनाएको थियो । उच्चले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना तोक्ने जिल्लाको आदेश सच्याउँदै एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ ३३ पैसा जरिवाना हुने ठहर गरेको थियो ।
खातुनले मोही बाट प्राप्त जग्गा नामसारीका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाहा गाविसबाट लिएको सिफारिसकै चलानी नम्बर राखेर गाविस सचिवको दस्तखत समेत नक्कली बनाइ जग्गा एकलौटी बनाउने गरी कर्मचारीको मिलेमतोमा अर्को सिफारिस निकालेकी थिइन् । उक्त मुद्दामा पक्राउ परेकी खातुन र उनका श्रीमान् शेख सिलावर मियाँ २५ दिन प्रहरी हिरासतमा बसेका थिए । खातुन १० हजार धरौटीमा रिहा भएर उच्च अदालतमा मुद्दा लड्दै आएकी थिइन् ।






































