राष्ट्रघात गरेरै भएपनि आफ्नो स्वार्थ पूरा गर्ने ?
वि.सं.२०७९ असार १० शुक्रवार १०:१९
shares

काठमाडौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन परियोजना –एमसीसीपछि फेरी अमेरिकी सरकारको नेसनल गार्ड स्टेट पार्टनरसिप (एसपीपी) सम्बन्धी अर्को विवादले नेपालको राजनीतिक बृत्तलाई हल्लाईदिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा अमेरिकाको भ्रमणमा जान लागेका बेलामा एसपीपी काण्डले चर्चा पाएको छ ।
सरकार र राजनीतिक दलका नेता तत्कालको स्वार्थ र लेनदेनमा यति विधि लम्पट छन् कि त्यस बाहेकका अन्य सबै विषयहरु उनीहरुलाई आवश्यकता मात्र होइन वाहियात नै लाग्छ । त्यही कारणले गर्दा अहिले नेपालको राजनीति बौद्धिक विचार विमर्शबाट यति टाढा कहिल्यै पुगेको थिएन । सत्तामा नपुगेसम्म राष्ट्रवादको कुरा गर्नेहरुले नै सत्तामा पुगेपछि राष्ट्रघात गर्ने प्रयास गरिरहेका हुनाले जनतामा निराशा छाएको छ ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर स्थानीय तहको चुनावमा गएका दलहरुले गठबन्धनकै बलमा केही बढी सिट संख्या हाँसिल गरेका र त्यसमा पनि कांग्रेसले गठबन्धनको फाइदा राम्रोसँग उठाएको हुनाले ऊ हौसिएको छ । कांग्रेसले जनताले हामीलाई मन पराएर मतदान हाम्रो पक्षमा गरेका हुन् भनिरहेका भएपनि वास्तवमा त्यो सत्य होइन । पाँच दलीय गठबन्धन गरिएको हुनाले मात्र कांग्रेसले बढी स्थानमा निर्वाचन जितेको हो त्यो जित कांग्रेसको मात्र नभएर पाँच दलीय गठबन्धनको जित हो भन्ने हेक्का कांग्रेसले राखेको देखिएन ।
सरकार र राजनीतिक दलहरुका बारेमा लेख्न र बोल्नुको कुनै अर्थ देखिँदैन । सरकार आफ्नो आलोचना भएको देख्न र सुन्न समेत चाहाँदैन भने राजनीतिक दलहरु पनि त्यस्तै भएका छन् । सरकार र राजनीतिक दलहरुको अनुत्तरदायि व्यवहार दोहारिरहने गरेका छन् । राजनीतिक र शासकीय बेथितिबाट मुलुकको विकासको सम्भावना पर पर धकेलिँदै गएको भएपनि सरकार र राजनीतिक दलहरु त्यसलाई स्वीकार गर्नुको बदला आ आफ्नो स्वार्थ पूरा गर्नेतर्फ अग्रसर भएका छन् । राष्ट्रघातै गरेर भएपनि अहिलेको सत्य वास्तविकता भनेको यहि हो ।
































