कमल थापाले भने आगामी निर्वाचन बाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ
वि.सं.२०७९ असार ११ शनिवार १६:४१
shares

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टी सँग एकता नहुने बताएका छन । राप्रपा बाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टी सँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसै सँग पार्टी एकता नहुने बताएका हुन । शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौति र विकल्प’ नामक वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रुपमा स्थापना भएको बताए ।
उनले पार्टी भित्रको गलत वैचारिक प्रवृति, विकृति र विसंगति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपा बाट टाढिएर अलग पार्टी स्थापना गरेको बताए । उनले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने दाबी समेत गरे । ‘हिन्दु धर्मको संस्थागत विकास गर्ने लक्ष्य सहित स्थापना भएको यस पार्टी प्रति जनताले ठुलो विश्वास लिएको छ । अब हुने निर्वाचन बाट यो राष्ट्रिय पार्टी बन्छ’ उनले भने –‘चुनावमा आवश्यकता अनुसार केही स्थानमा अन्य राजनीतिक दल सँग तालमेल हुनसक्छ ।’
थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने सुझाव समेत दिए । ‘अहिले संघीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ’ उनले भने, ‘संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढी भन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा संघीयतालाई थप संस्थागत हुन्छ ।’ उनले व्यक्तिको इमानदारिता र लगनशीलतामा कमीका कारण संविधानले स्थायित्व पाउन नसकेको बताए ।
नेता थापाले कम्युनिष्ट तथा अन्य ठुला दलहरुमा वैचारिक विचलन देखापरेको बताए । ‘साम्यवाद, समाजवाद र पुँजीवाद दर्शन हावी हुँदा ठुला दलहरूको विचारमा विचलन आएको छ’ उनले भने –‘साम्यवाद, समाजवाद, पुँजीवादको विकल्पमा सम्बर्दनवादको दर्शनलाई पार्टीले अघि बढाउनेछ ।’ उनले सम्वर्द्धनबाद भनेको सनातन धर्मको रक्षा र परम्परागत संस्कारलाई अंगाल्दै अघि बढ्ने दर्शन रहेको बताए । उनले भने –‘परम्परागत सनातन धर्मको रक्षा गरेर पनि देशको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउन सकिन्छ ।’






































