सभामुख नेतृत्वको संसदीय प्रतिनिधिमण्डल अजरबैजान प्रस्थान
वि.सं.२०७९ असार १४ मंगलवार १३:२६
shares

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जाल (Non Aligned Movement Parliamentary Network ) को सम्मेलनमा सहभागी हुन मंगलबार अजरबैजान गएका छन् । अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार विहान सवा ११ बजे त्यस तर्फ प्रस्थान गरेको हो ।
प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक रहेका छन् । सापकोटा सहितको टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले विदाइ गरे । अजरबैजानमा हुने उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसदहरु बीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
सम्मेलनले बाबु घोषणापत्र जारी गर्नेछ । सम्मेलनका क्रममा सभामुखले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारी सँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सम्मेलनमा सहभागी भएर सापकोटा १९ असारमा स्वदेश फर्किनेछन् ।




































