२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेखर कोइराला पक्षको सभापति देउवाको कार्यशैलीमा आपत्ति जनाउँदै दबाव बढाउने रणनीति

923
shares

काठमाडौं ।नेपाली कांग्रेसको नेता डा. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीमा आपत्ति जनाउँदै दबाव बढाउने रणनीति लिएको छ । कोइराला पक्षले सभापतिले पार्टीको विधान अनुसार काम नगरेको मुद्धालाई प्राथमिकता साथ उठाउने तयारी गरेको छ । भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षले मुद्दा बनाउन लागेको हो ।

‘सभापतिले नेविसंघ र तरुण दलको नेतृत्व एकलौटी तरिकाले चयन गर्नुभयो’ कोइराला निकट एक केन्द्रीय सदस्यले भने, ‘पार्टी भित्र परामर्श गरेर मात्रै चयन गर्ने केन्द्रीय समितिको निर्णयलाई लागु गर्नुभएन । भ्रातृ संस्थालाई पूर्णता दिन पनि कुनै छलफल गर्नुभएको छैन ।’ केन्द्रीय समितिको बैठक बोलाउन समेत कोइराला पक्षले दबाव दिने भएको छ । विधान अनुसार दुई महिना भित्र केन्द्रीय समितिको बैठक बस्नुपर्छ । तर चैतदेखि केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।

केन्द्रीय समितिको बैठक बस्नुअघि आफ्नो पक्षको रणनीति तय गर्न कोइरालाले आफू पक्षीय नेताहरुको भेला गर्न लागेका हुन् । कोइरालाले आफू पक्षीयको भेला छिट्टै बोलाउने ती नेताले जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा समेत गरिने उनले बताए । सभापति देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयनमा एकलौटी निर्णय भएको निष्कर्ष निकालेको कोइराला पक्ष किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनितपछि थप चिढिएको छ ।

‘दुईटा भ्रातृ संस्थाको नेतृत्व चयन एकलौटी गर्नुभएको थियो । एकतर्फी निर्णय गरेपछि शेखर दाइले आपत्ति जनाउनुभएको थियो । सभापतिले उहाँलाई बोलाएर सल्लाहमा निर्णय गर्छु भन्नुभएको थियो’ कोइराला निकट नेताले भने, ‘किसान संघ र जनजाति संघको अध्यक्ष चयन गर्दा कुनै सल्लाह भएन ।’ नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्धान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघमा ओमबहादुर थापालाई सभापतिले मनोनित गरेका छन् । असार १० मा किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष देउवाले मनोनित गरेका छन् । भ्रातृ संस्थाको नेतृत्वमा चयन भएका नेताहरु सभापति देउवा पक्षकै हुन् ।

समयमा महाधिवेशन गर्न नसकी भंग गरिएका १० भ्रातृ संस्था मध्ये ६ वटाले मूल नेतृत्व समेत पाएका छैनन् । नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघलाई केन्द्रीय समितिहरु फागुन ३ मा भंग गरेको थियो । यी सबै भ्रातृ संस्थाले नियमित समयमा महाधिवेशन गर्न सकेका छैनन् । साथै दलित संघले समेत महाधिवेशन गर्न सकेको छैन । दलित संघले मिति तोकेर पनि महाधिवेशन गर्न सकेको छैन ।

उक्त भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरिएको छैन । भंग गरिएका भ्रातृ संस्थालाई पार्टी भित्र छलफल गरी गत फागुन मसान्त भित्रै गठन गर्ने अधिकार देउवालाई दिइएको थियो । १४ औं महाधिवेशन सकिएको छ महिना पुगेको छ । विधान अनुसार ६ महिना भित्र विभाग गठन गर्नुपर्ने थियो । तर, विधानले व्यवस्था गरेका २८ विभाग अहिले सम्म गठन हुन सकेको छैन ।

विधान संगत सभापतिले विभाग गठन गर्ने कार्यलाई अघि नबढाएको विषयमा समेत आफूहरुको भेलामा छलफल हुने ती नेताले बताए । महाधिवेशन सकिएको ६ महिनापछि नीति महाधिवेशन गर्ने भनिए पनि त्यसका लागि प्रक्रिया सुरु भएको छैन । नीति महाधिवेशनको मिति छिट्टै तोक्नका लागि आफ्नो पक्षले आवाज उठाउने कोइराला पक्षका नेताले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports