विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अफ्रिकामा भन्दा बढी उफ्रन सक्ने भ्यागुते भोजन भट्टहरु

468
shares

 

राजन कार्की
अफ्रिका र दक्षिणपूर्वी एसियामा पाइने योकोफोरस जातका भ्यागुता १० मिटर परसम्म उफ्रनसक्ने रहेछन् । दक्षिण एसियाको मुलुक नेपालका राजनीतिज्ञहरु भ्रष्टाचार र नैतिकहीन मामिलामा विश्व रेकर्ड नै तोडेर उफ्रनसक्ने भ्यागुते भोजन भट्ट बन्न पुगेका छन् ।
लाटोकोसेरोले के खाएर बाँच्छ होला अनुमान गरौं । चरा, मुसा खाएर बाँच्ने लाटोकोसेरोमा दाँच हुँदैन । त्यसैले उसले जे खान्छ, सिंगै सुलुत्त सुलुत्त निल्छ । त्यसरी निलेको लाटोकोसेरोले जे खान्छ, १२ घण्टापछि नङ्ग्रा, प्वाँख, भुत्लाजस्ता चिजहरु मुखैबाट ओकल्छ । राजनीतिको अर्थ उत्तम समाज सेवा हो तर नेपाली राजनीतिमा लागेकाहरु जो ३० वर्षअघि आएको बहुदल र १३ वर्ष अघि स्थापित लोकतन्त्रलाई यसरी व्यापार बनाएर जे पायो सुलुत्त सुलुत्त निले कि तिनीहरु आज अरवी शेखजसरी सम्पन्नताको जीवन बिताउन थालेका छन् । यसमा पनि खासगरी आफूलाई कम्युनिष्ट बताउनेहरु, राजा फालेर नवबास्सा बन्नपुगेका छन् ।
यसकारण जो सच्चा कम्युनिष्ट हुन्, तिनीहरु कोठाचोटामा साँघुरिएर, चाउरिएर भन्छन्– १५ वर्षमा पटक पटक सत्तामा पुगेका कम्युनिष्टहरू सर्वहाराको प्रतिनिधित्व गर्दैनन् । तिनीहरु सर्वआहारावादी हुन् । अर्थात् जे पायो खायो, विदेशी हाजमोलाको बलमा पचायो ।
प्रजातन्त्रका प्रवर्तक अब्राहम लिंकनले भनेका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन्, राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्ता गर्छन् । संसदलाई होइन, अदालतको परमादेशलाई प्राथमिकता दिने ५ ठूला दलहरू मंसिर ४ को निर्वाचनलाई जसरी पनि जित्ने जुन प्रकारको महत्व दिइरहेका छन्, तिनले असल शासक होइन, आगामी चुनावलाई मात्र महत्व दिएको प्रष्ट हुन्छ ।
अझ चुनाव जित्नका लागि विदेशी एजेण्डालाई महत्व दिए । कामचलाउ सरकारले नागरिकतालाई खुकुलो पार्ने विधेयक पास गरे । जलविद्युत आयोजना विदेशीलाई दिने निर्णय गरे । घटनाक्रमले गठबन्धन सरकार देशको सुरक्षा र अस्तित्वलाई च्याँखे थापेर चुनावलाई मात्र महत्व दिइरहेको छ ।
नेपाली गरीव छन्, बुझेका छन् तर बाध्यतावश तिनैलाई चुन्छन् जो जनवादीका नाममा जनघाती छन् । प्रजातन्त्रलाई व्यक्ति र पार्टीको स्वार्थमा उपयोग गरिरहेका छन् । पैसा खर्च गरेपछि, शक्तिको दुरुपयोग गरेर र तर्साएर चुनाव जित्नका लागि पैसा चाहिन्छ र कांग्रेस–कम्युनिष्टहरूले अग्रगमनको भ्रम छरेर राष्ट्रलाई बन्दी बनाएका छन् । अपवित्र गठबन्धन, पैसाको र विदेशी ताकतको बलमा ।
भाषणबाजी कलामा पारङ्गत यिनीहरू देशभक्तिका भाषण गरेर थाक्दैनन् । ब्यवहारमा राष्ट्रघात र स्वार्थमा लिप्त छन् । यिनीहरु न सीमाबा।ृ बोल्छन्, न डुबानमा, न अतिक्रमण अथवा हस्तक्षेपका बारेमा । यिनीहरु देशभक्तिका नाममा नक्कली मयुर हुन्, जो चुनाव नजिकिदै गर्दा नक्कली नाच देखाइरहेका छन् ।
जो समाजवाद र सर्वहाराको नारा लगाउँछन् र सर्वआहारा खान्छन्, निषेधित फल खाने सिद्धान्तहीन नेतृत्व कसरी देशको शक्ति हुनसक्छ ?
नेपालका सन्दर्भमा आधुनिक डाइनासोर हो गठबन्धन सरकार । जसले प्रधानन्यायाधीशलाई समेत तारेखमा झुण्ड्याएर विधिको खिल्ली उडाइरहेको छ ।
ंसंविधान निर्माणका बेलामा जनतासँग सुझाव लिइयो, एउटा सुझाव पनि संविधानमा समावेश गरिएन । १२६ जाति छन् देशमा । १२–१५ जातिले शासन गर्ने संविधान जारी गरेका छन्, कहाँ छ पहिचान ? कुनै पार्टीमा समावेशीता देखिन्न । कुनै कुनै जाति जंगलमा गिठ्ठा भ्याकुर खाएर बाँचिरहेका छन्, अधिकांश जाति गरीवीको रोगले जन्मन्छ र किराफट्याङ्ग्रा मरेझैं मरिरहेका छन् । तिनका लागि सरकार र समानता यी पार्टीले कहाँ दिएका छन् ? तिनको मानवाधिकार, राष्ट्राधिकार, सार्वभौमिक अधिकार, बाँच्ने आधारभूत अधिकारको चिन्ता संविधानले संसदबाट ग¥यो कि सरकारले सिंहदरवारबाट ? गाउँपालिकासम्म पुगेको सिंहदरवार पनि अनियमितता र भ्रष्टाचारकै पोखरीमा आहाल बस्न पूग्यो । अनि ७ सय ६१ थरिका सरकारमा गजधम्म बसेका समाजवादी, सर्वहाराका नेताहरुका लागि यो सब अवसर सर्वआहाराको अवसर बनेको छ, भोजन भट्टहरुका लागि ।
श्रमजीवी, सर्वहारा अर्थात जोसँग पाखुरीबाहेक अरु केही छैन । पाखुरी बजार्न सकेको दिन खायो, नसकेको दिन भोकै सुत्यो । न घर छ, न बास ? जीवनकै स्थायित्व छैन, अरु के हुन्छ तिनको ? किसान, सुकुम्वासी समस्या छ, गरीब, मजदुर समस्या छ, समस्यै समस्या छ र यिनै समस्यालाई म गर्छु समाधान भनेर समाजवादी, कम्युनिष्ट नामधारीहरु नेता बनेका छन् । आफ्ना चाकरीवाज दुई चारजनाले अवसर पाए होलान्, अरु सर्वहाराले जनयुद्धबाट पनि केही पाएनन्, जनआन्दोलनाट पनि रित्तै रह्यो । १५ वर्षको लोकतान्त्रिक शासन पनि कौवालाई बेल पाकेसरह हुनगयो ।
जो समाजवाद र सर्वहाराका नाइके थिए, तिनीहरु पालैपालो सत्तामा गए । मुहार चम्किलो बनाए । तिनैले कांग्रेसको बुई चढेर सत्ता चलाइरहेका छन् । भागशान्ति गरेर आफ्ना र परिवार, आफन्तका लागि सात पुस्तालाई पुग्ने सम्पत्ति जोडजाम गरिरहेका छन् ।
विश्वजगत नेपाललाई स्वर्ग ठान्छ, अर्को स्वीट्जरलेण्ड मान्छ । शान्त हुन र शान्तिका लागि प्रेरणा लिन विश्वमानवहरु नेपाल आउने गर्छन् । यस्तो पवित्र भूमिका नेताहरू नेपालमा स्थिरताका नाममा अराजकताको बीउ छरिरहेका छन् ।
२००७ सालमा हामीले दिल्ली गुहा¥यौं, दिल्लीले भारी बोकाएर पठाइदियो । कोशी गण्डकीमात्र गएन, मन्त्रिपरिषदमा भारतका प्रतिनिधि बस्ने व्यवस्थासमेत मान्यौं । नेपालमा भारतीय सैनिक पोस्ट नै स्थापित गरियो । ०१७ सालमा राजाले कु त गरे तर दिल्लीका नचाहिदा, हस्तक्षेपका भारीहरु दिल्ली नै फर्काउने काम भएकै हो । विकास र राष्ट्रियताको जग कुनै बेला बलियो थियो भने त्यो ०१७ देखि ०२८ साल सम्मको महेन्द्र काल नै हो । राम्रोलाई राम्रो भन्न र अनुकरण गर्न सक्दैनन् यी लोकतान्त्रिक नारा लगाउनेहरू ।
०४६ सालमा १० बुँदे भारतीय प्रस्ताव आएकै हो । राजा वीरेन्द्रले त्यसलाई अस्वीकार गरेर जनताका सामु झुक्छु भनेका हुन् । बहुदल त आयो, बहुलायो । १२ वर्षे कूशासन त्यही बहुदलीय कालखण्ड हो । त्यही कालखण्डमा महाकाली, टनकपुर सन्धि भए भारतको हितमा । त्यही समयमा विदेशीलाई नागरिकता सजिलै दिने बिधेयक आयो, राजाले फर्काइदिए । त्यसको प्रतिफल हो दरवार हत्याकाण्ड ।
ज्ञानेन्द्र शाहलाई राजा बनाइयो । उनका सामु फेरि नागरिकता वितरण सरलीकरण गर्ने संशोधन आयो, उनले नामञ्जुर गरिदिए । त्यसैको प्रतिफल राजतन्त्र समाप्त पारियो, हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष बनाइयो । संघीयताको भारी जनताको काँधमा भिराइयो ।
अहिले सजिलै नागरिकता बितरण गर्ने र विदेशीका सन्तानलाई बंशजका आधारमा नागरिकता दिएर नेपालको संवैधानिक अंगहरुको प्रमुख बन्नसक्ने व्यवस्था गर्न लागिएको छ । संसद, सरकारले राष्ट्रपतिविरुद्ध अभियान छेडेका छन् । राष्ट्रपतिले नीतिगत प्रश्न उठाएर पुनर्विचार गर्न आग्रह गर्दा तुजुक देखाएर जस्ताको तस्तै पठाउने तैयारी छ । यो सरकार देशभक्तरे ? यो सरकार संवैधानिक रे ? यो सरकार अग्रगमनकारी रे ?क
समस्या गरीबको मुक्तिमै छ । मुक्तिका लागि कुरा बढी भए, काम शून्य । सर्वहारा चुनावी हतियारमात्र भए । आमनागरिक चुनावमा विश्वास गरेर मतदान गर्छन्, चुनावपछि सर्वहारा हतियार अहामजनताको टाउकोमै बज्रिन्छ । घाइते जनता नै हुन्छन् । जनतालाई पार्टी पार्टीमा विभाजन गर्ने, युवालाई निकासी गर्ने र तिनले पठाएको रेमिटान्समा हालीमुहाली चलाउने नीति ठूला नेताहरूले लिएका छन् । जुन देशघातक छ ।
देशभक्तहरु जो नेपालीत्वका कुरा गर्छन्, जो सीमा सुरक्षित हुनुपर्छ भन्छन्, जो सबै जातजातिको पहिचानको रक्षा र समानताको वकालत गर्छन्, जो विदेशी हस्तक्षेप रोक्न चट्टान भएर उभिन सक्छन्, तिनीहरु सबै एक हुनुपर्छ । त्यस्ता देशभक्तहरु नेकपाभित्र पनि छन्, नेपाली कांग्रेस, राप्रपा, मधेशवादीभित्र पनि छन् । अन्यत्र छरिएका र स्वतन्त्र पनि छन् । ती सबै एकत्रित, एकजुट हुनुपर्ने बेला यही हो । अन्यथा यो भूगोलमा विदेशी ताकतको भूराजनीति अझ बढ्नेछ । तिनको जुधाइमा पर्ने र मर्ने, मूल्य चुकाउने आमनागरिकले नै हो । माटोले नै हो ।
नेपाली कांग्रेसका दिग्गज नेता प्रदीप गिरि भर्खर दिवंगत भए, उनलाई हार्दिक श्रद्धाञ्जली । उनले केही समय अघि संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमै ‘सके भारतले नेपाललाई सिक्किम बनाउँछ ।’ भनेर यथार्थ बोलेका थिए । यही संसदले नागरिकता विधेयक पारित गरेर नागरिकता बितरण गर्ने योजना बनाउनु प्रदीप गिरिको अभिव्यक्तिको निकट छ ।
यसकारण यो समय, नेपाली हँु भन्नेहरुका लागि सतर्कताको समय हो । हरेक नेपाली हुँ भन्नेले विदेशी चलखेलमार्फत बजेका थरिथरिका मृत्युघण्टा सुन्नुपर्छ, सजक हुनुपर्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports