सत्ता गठबन्धनको कार्यदल बैठक लगातार बसेर दुई दिन भित्र सिट बाँडफाँटको टुंगो लगाउने
वि.सं.२०७९ भदौ २० सोमवार ०५:१७
shares

सत्ता गठबन्धनको कार्यदल बैठक लगातार बसेर दुई दिन भित्र सिट बाँडफाँटको टुंगो लगाउने भएको छ । हिजो आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँड बारे छलफल भएपनि निष्कर्षमा नपुगेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उनले आज र मंगलबार बस्ने कार्यदलको बैठकले टुंगो लगाउने बताए । ‘बैठक जारी छ । आज १ बजे फेरि हाम्रो कार्यदलको बैठक छ । कार्यदलले लगातार बैठक बसेर सहमतिपूर्ण निर्णयमा पुग्छ र त्यो निर्णय शीर्ष नेतालाई पेस गर्छौं’, कार्कीले बैठकपछि भने ।
सिट बाँडफाँटकै सेरोफेरोमा रहेर छलफल भइरहेको पनि कार्कीको भनाइ छ । उनले सिट बाँडफाँट न्यायोचित, सम्मानजनक र सबैले जितेको महसुस हुने गरी निर्णयमा पुग्ने दाबी गरे । सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभामा पनि जित्नेगरी संख्या भागबण्डा गर्ने गृहकार्य भइरहेको नेताहरूको भनाइ छ । यसअघि प्रतिनिधि सभामा दलहरूले दाबी गरेको संख्या बाट केही सिट तल माथि गरेर सहमतिमा पुग्न नेताहरू सहमति नजिक पुगेका छन् ।
हिजो आइतबार बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेता सँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट बारे छलफल गरेका थिए । त्यसक्रममा नेताहरु बीच हारजितको माइक्रो एनालाइसिस गरेर सोही अनुसार भागबण्डा गर्नु उपयुक्त हुनेमा सहमति भएको बताइएको छ ।

































