पदका लागि राष्ट्रिय सहमति
वि.सं.२०७९ माघ १३ शुक्रवार ११:३१
shares

काठमाडौ । संघीय संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले ठुलो दल हुँदा हुँदै पनि सरकारको नेतृत्व गर्न तत्कालका लागि असमर्थ भएको छ । कांग्रेसकै हठका कारण सत्ताबाट विमुख हुन पुगेको कांग्रेस यतिबेला पानी बेगरको माछाजस्तो भएर छटपटाई रहेको छ ।
२०४६ सालको राजनीतिक परिवर्तन पछि सबैभन्दा धेरै पटक सत्ताको नेतृत्व गरेको कांग्रेस सत्तामा पुगेपछि सर्वेसर्वा हुन खोजेकै कारण पछिल्लो पटक उसले सत्ता गुमाउनु परेको सत्य वास्तविकता रहेको छ ।
पछिल्लो समयमा कांग्रेसले फेरी राष्ट्रिय सहमतिको माला जप्न थालेको छ । सत्तामा रहँदा केही समस्या नदेख्ने कांग्रेसले सत्ताबाट बाहिर रहँदा समस्या नै समस्या देख्न थालेको छ । त्यही कारणले गर्दा उसले अहिले राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताउँदै आएको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राष्ट्रिय सहमति गरेर अघि बढ्नुको विकल्प नभएको भन्दै राष्ट्रिय सहमतिका लागि राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बताएका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले माघ ९ गते पार्टीका पूर्व पदाधिकारी र वर्तमान पदाधिकारीहरुको बैठकमा आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका लागि रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलामध्येका एक उमेदवार हुने बताएपछि पौडेलले राष्ट्रिय सहमति खोजेका छन् ।
सत्तामा बसेका बेला कांग्रेसलाई कहिल्यै राष्ट्रिय सहमति चाहिएन अहिले संघ लगायत सातै प्रदेशमा मुख्यमन्त्री सहितका अन्य महत्वपूर्ण पदहरु गुमाएको अवस्थामा कांग्रेसलाई राष्ट्रिय सहमतिको आवश्यकता परेको छ ।
नेकपा एमालेको सहयोग र संयोजनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका र प्रधानमन्त्री दाहालले पुस २६ गते ससदमा विश्वासको मत लिँदा कांग्रेसले दाहाललाई विश्वासको मत दिएको हुनाले आउँदो राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले आफ्नो पार्टीका राष्ट्रपतिको उमेदवारलाई मत दिने आंकलन गरेरै कांग्रेसले अहिले राष्ट्रिय सहमतिको माला जपिरहेको जस्तो देखिएको छ ।
सत्ता गठबन्धनलाई टुटाउने खेलमा सक्रिय भएको कांग्रेसले राष्ट्रपति पाउनकै लागि मात्र राष्ट्रिय सहमतिको कुरा उठाएको हुन सक्छ । के कांग्रेसले भनेजस्तो राष्ट्रिय सहमति बन्न सक्ला र कांग्रेसका उम्मेदवार राष्ट्रपतिमा विजयी होलान् त भन्ने प्रश्न समेत उठेको छ ।
कांग्रेस सत्ता बेगर बस्न नसक्ने भएकाले गर्दा नै उसले प्रधानमन्त्रीलाई आफ्नो प्रभावमा पारेर अहिले सत्ता गठबन्धनलाई टुटाएर सत्तामा पुग्ने रणनीतिक उदेश्य लिएको भएपनि अहिले नै त्यो सम्भव देखिएको छैन ।






































