linktrix Long Ad
Salt Trading Long Ad

मदिरा र सुर्तीजन्य बिज्ञापन नछाप्न र प्रकाशन नगर्न प्रेस काउन्सिलको आग्रह तर सञ्चार माध्यममा छ्यपछ्यपति बिज्ञापन

1K
shares

प्रेस काउन्सिल, नेपालले मदिरा, चुरोट तथा सुर्तीजन्य पदा र्थलगायत सामग्रीको विज्ञापन र प्रचारप्रसार नगर्न पुनः सम्पूर्ण सञ्चारमाध्यमलाई निर्देशन दिएको छ । काउन्सिलले जनस्वास्थ्यमा असर पार्ने सामग्रीको प्रचार रोक्न सञ्चारमाध्यमलाई सचेत गराइएको बताएको छ । सञ्चारमाध्यम, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यम एवम् होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्री प्रचारप्रसार भइरहेको सम्बन्धमा काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा (१) मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायत मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन’ भन्ने प्रावधान रहेको स्मरण गराउँदै काउन्सिलले कानुनले रोक लगाएको कार्य नगर्न भनेको हो । सोही दफाको उपदफा (२) मा भनिएको छ, ‘मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रचार गर्न पाइने छैन ।’

यस्तो विज्ञापन गर्नेलाई १० हजार रुपैयाँ सम्म जरिवाना गर्ने प्रावधान छ । यद्यपि, सञ्चारमाध्यमहरुले अहिले पनि खुलेआम मदिराको विज्ञापन प्रचारप्रसार गरेका छन् । काउन्सिलले हिजो सो सम्बन्धी विज्ञप्ति जारी गरेपछि सामाजिक सञ्जालमा निकै रोचक दृश्य देख्न र विवरण पढ्न पाइएको छ । काउन्सिलको समाचार सम्प्रेषण गरेको एउटा मिडिया हाउसको न्यूज पोर्टल मदिराकै विज्ञापनले भरिपूर्ण देखिन्छ । धेरै वटा मदिरा कम्पनीको विज्ञापनको बीचमा रहेको उक्त समाचारले धेरैको ध्यान खिचेको छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘अरुलाई भनेको होला, आफैं कहाँ रोक्ने हो र ? छाप्छ ।’ नेपालका ठूला राष्ट्रिय दैनिकको ‘फ्रन्ट पेज’ मै मदिराको ठूलो विज्ञापन छापिएको हुन्छ ।

सञ्चार क्षेत्र माथि नियमन गर्ने विभिन्न निकायले मदिराको विज्ञापन नराख्न भनेपनि अटेर गरिएको छ । यता, विज्ञापन बोर्डले पनि यसअघि मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने सामग्रीको विज्ञापन र प्रचारप्रसारमा रोक लगाएको थियो । तर, विभिन्न संघसंस्थाले बोर्डको उक्त निर्णयप्रति आपत्ति जनाएका थिए । त्यसपछि बोर्ड पछि हट्न बाध्य भएको हो । सरकारी निकायले त्यस्ता विज्ञापनमा रोक लगाउने आदेश जारी भए पनि कसैले टेरपुच्छर लगाएका छैनन् ।

प्रायः राष्ट्रियस्तरका पत्रपत्रिकाले जकेट विज्ञापनका रुपमा मदिराकै विज्ञापन प्रकाशित गर्दै आएका छन् । तर पनि सम्बन्धित निकाय उक्त विज्ञापनलाई टुलुटुलु हेर्न बाध्य देखिन्छन् । पटक पटक सचेत गराउँदा पनि मिडियाले नटेरेको काउन्सिलको गुनासो छ । काउन्सिलका एक पदाधिकारीले भने, ‘पटक पटक सूचना निकालेपनि नटेरेपछि के गर्ने ? कारबाही गरेर साध्य छैन । जनस्वास्थ्यको कानुनले नै प्रतिबन्ध लगाएको छ । मिडियाहरु आफैंले बुझ्नुपर्ने हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports