बिनाकारण माओबादीबाट मारिएका सयौं परिवारले अहिले सम्म पनि न्याय पाएका छैनन : अध्यक्ष थापा
वि.सं.२०७९ फागुन २३ मंगलवार १३:३८
shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालीन नेपाल सरकार र माओवादी बीचको ‘विस्तृत शान्ति सम्झौता’ आफैँमा विवादास्पद दस्तावेज भएको टिप्पणी गरेका छन् । पछिल्लो दिनमा संक्रमणकालिन न्यायको विषयमा चर्चा भइरहेको बेला सामाजिक सञ्जालमा लेख्दै थापाले त्यसबेला कायम रहेको राज्यसत्ताको अंग र द्वन्द्वको महत्वपूर्ण पक्ष राजसंस्थालाई सम्झौता गर्दा कहिँकतै संलग्न नगराइएको बताए । उनले द्वन्द्वकालमा दुवै पक्ष बाट ज्यादति भएको कारण ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’को व्यवस्था भएको बताए । गत १५ वर्षमा ४ पटक माओवादीको नेतृत्वमा सरकार बनेको र सबै सरकारमा माओवादी सहभागी भएको तर सत्यनिरुपण गर्ने र अपराधीलाई कठघरामा उभ्याउने काम कसैबाट नभएको थापाले बताए ।
माओवादीबाट विनाकारण मारिएकाहरुको सयौँ परिवारले अझै न्याय नपाएको अवस्थामा पीडित पक्षले न्यायको लागि अदालत गुहार्नु अन्यथा नभएको बताउँदै अध्यक्ष थापाले भने, ‘अवसर पाउँदा सत्ता सुखसयलमा रमाउने अनि कसैले न्याय पाउँ भनेर आवाज उठाउँदा आक्रोशित हुने र अझै ‘भाटेकारवाही’को त्रास देखाउनु सर्वथा उचित होइन । सेटिङ र दलहरुको प्रभावमा परेको न्यायालयबाट न्याय पाइन्छ भन्ने विश्वास पनि मर्दै गएको छ । विगतका अनुभवले ले त्यही भन्छ ।’
उनले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आमजनता र पीडित परिवारसँग माफी माग्न आग्रह समेत गरेका छन् । ‘अहिले स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ । आफै सरकार, आफै विद्रोही नेता हुनुहुन्छ । साहस देखाउनु होस् । विगतमा भएका मानवता विरोधी अपराधको निम्ति आमजनता र विशेष गरी पिडित परिवारसँग माफी माग्नुहोस् । निष्पक्ष र विश्वसनीय व्यक्तिहरु संलग्न रहेको ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’ गठन गर्नुहोस् । द्वन्दकालमा भएका सबै समस्याहरुको स्थायी समाधान गर्नुहोस् । जालझेल नगर्नुहोस् । यो प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निम्ति महत्वपूर्ण अवसर हो । सायद यसपछि मौका नआउन पनि सक्छ ।’ थापाले भनेका छन् । अध्यक्ष थापाले मानवता विरोधी अपराधमा मृत्युपछि पनि सजाय भएको र पीडितलाई न्याय र राहत दिएको विश्वमा थुप्रै उदाहरण रहेको उल्लेख गरेका छन् ।






































