पुष्पकमल दाहाल विरुद्धको मुद्दा सर्वोच्चमा दर्ता, पहिलो सुनुवाइ पर्सी २५ गते बिहीबारको लागि तोकियो
वि.सं.२०७९ फागुन २३ मंगलवार १३:४१
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्ति समेतलाई लिएर सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको हो । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहाल विरुद्ध दिएका २ वटा रिट मंगलबार सर्वोच्च प्रशासनमा दर्ता भएको हो । यसअघि उनीहरूले गत कात्तिक १४ मा सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ मा सर्वोच्च प्रशासनले दरपीठ (दर्ता नगर्ने निर्णय) गरेको थियो । दरपीठ भएको रिट निवेदन शुक्रबार न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । उक्त इजलासले रिट दरपीठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो ।
सर्वोच्चको उक्त आदेशको लिखित प्रति आइतबार सार्वजनिक भएकोमा मंगलबार रिट दर्ता भएको हो । दाहाल विरुद्धको रिटको पेसी बुधबारका लागि पेसी तोकिएको छ । दाहालले ०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए । सोही अभिव्यक्तिलाई आधार बनाएर सर्वोच्चमा मुद्दा दर्ता भएको हो । आरणको रिटमा द्वन्द्वकालमा मृत्यु भएका र बेपत्ता पारिएका व्यक्ति र बुढोथोकीको रिटमा अंगभंग, सम्पत्ति कब्जा र लुटपाटलाई मुद्दा बनाइएको छ । यसअघि आजै नेकपा माओवादी धारका आठ दलका नेताले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधि भए त्यसको प्रतिवाद गर्न आफूहरू एकमत रहेको बताएका थिए ।
अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले मुद्दामा तत्कालीन जनयुद्धमा मारिएका झण्डै १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने भनी २०७६ को माघी पर्वमा काठमाडौंमा आयोजित कार्यक्रममा बोलेको भिडियो क्लिपलाई प्रमाणको रुपमा पेस गर्दै प्रधानमँत्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गरेका छन् । न्यायाधीश फुयाँल केपी ओली नेतृत्वको तत्कालीन सरकारको पालामा पार्टी कोटामा एमालेबाट नियुक्त भएका न्यायाधीश हुन् । मुद्दाका पक्ष आरन र बुढाथोकी एमालेनिकट मानिन्छन् । मुद्दाको दर्ता नम्बर ०७९ डब्लूओ–९४७ रहेको छ । मुद्दामा सुनवाईका लागि पर्सि बिहीबारलाई पेसी तोकिदिएको छ ।






































