linktrix Long Ad
Salt Trading Long Ad

आरोप प्रमाणित गर्न सभामुख घिमिरेलाई पत्रकारहरूको चुनौती

767
shares

काठमाडौँ- लाञ्छना पुष्टि गर्न सभामुख देवराज घिमिरेलाई पत्रकारले चुनाती दिएका छन्। सभामुख घिमिरेले शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा ‘पत्रकारहरू बिक्रीमा छन्‘ भनेर अभिव्यक्ति दिएका थिए।सो अभिव्यक्तिको पुष्टि गरेर देखाउन पत्रकारले चुनौती दिएका हुन्। पत्रकार महासंघ, प्रेस युनियन, संसदीय मामिला पत्रकार समाजले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी सभामुखले पत्रकारलाई लगाएको आरोप पुष्टि गर्न भनेका हुन्। पत्रकार महासंघ प्रतिष्ठान, प्रदेश समितिले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा ‘पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर सभामुखले आफ्नो पदीय कद घटाउनु मात्रै भएको छैन, जसलाई जे भने पनि हुन्छ भन्ने भाष्य निर्माणमा सघाउ पुर्‍याएकाे छ।’ सभामुखको अभिव्यक्ति अशोभनीय,अपरिपक्व र गैरजिम्मेवार भएको महासंघको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘तर्क र तथ्ययुक्त प्रश्न गर्न सुन्नु र त्यसमा प्रतिक्रिया जनाउनु बेग्लै कुरा हो तर कोरा अनुमानका भरमा अप्रमाणित आरोप लगाउनु निन्दनीय हुन जान्छ। उहाँको हालसम्मको व्यक्तिगत जीवनमा कुनै पत्रकारले अनुचित दख्खल दिएको भए, अनुचित लाभको लागि दबाब दिएको भए, नियत साँधेर आँच पुर्‍याएको भए र सभामुखसँग त्यसको प्रमाण भएको भए कानुनी उपचारको लागि उहाँ अहिले पनि स्वतन्त्र हुनुहुन्छ। त्यसको लागि सहयोग गर्न महासंघ सदैव तयार नै छ। तर सिंगो प्रेस जगतलाई आक्षेप लगाउने, वदनाम गराउने र पेशाप्रति नै वितृष्णा एवं विकार जन्माउने गरी दिएको अभिव्यक्ति खेदजनक छ।’ सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन कानुन निर्माण गर्ने सर्वोच्च थलो प्रतिनिधिसभाकै सभामुखबाट सञ्चार जगतप्रतिको यस्तो धारणा आउनुले संसदमा बन्ने कानुन कसरी मिडियामैत्री होलान् भन्ने गम्भीर प्रश्न जन्मिएको महासंघको भनाइ छ। महासंघले यसतर्फ गम्भीर र सचेत बन्न सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदै सभामुखको अभिव्यक्ति तत्काल फिर्ता लिन आग्रह गरेको छ।

यस्तै, संसदीय मामिला पत्रकार समाजले सञ्चार जगतलाई हेर्ने दृष्टिमा सभामुखको यति तल्लो स्तरको सोचाइ होला भनेर कल्पना पनि नगरेको जनाएको छ। सभामुख घिमिरेको धारणाप्रति खेद व्यक्त गर्दै संसदीय मामिला पत्रकार समाज सदैव देश, जनता र संविधानले अंगिकार गरेको प्रावधानप्रति प्रतिवद्ध रही मिडियामैत्री कानुनको पक्षमा आवाज बुलन्द पार्ने प्रतिवद्धतासमेत जनाएको छ। सभामुख पदमा आसीन भैरहँदा हिजोका कठिन समयमा मिडियाले गरेको भूमिका नभूल्नसमेत समाजले आग्रह गरेको छ। प्रेस युनियनले तटस्थ, निष्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर दिएको नेपालको स्वतन्त्र प्रेसविरुद्धको अभिव्यक्ति अपरिपक्क र अशोभनीय रहेको उल्लेख गरेको छ।

‘पत्रकारले भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन्। सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन सञ्चारसँग सम्बन्धित कानुन बनाउन सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता क्षेत्रलाई आक्षेप लगाउनु दुःखद् हो। सभामुखबाट समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने गरी अभिव्यक्त विचार निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ। युनियनले लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारितामा विश्वास राख्ने गरेको पनि जनाएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports