kumari
stcnepal

नक्कली भुटानी शरणार्थी बनाई रकम ठगी गरेको आरोपमा थप ३ जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई रकम ठगी गरेको आरोपमा थप ३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडाैंले थप ३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उक्त ठगी प्रकरणमा संलग्नता देखीएको भन्दै केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी हाल फरार छन् ।

पक्राउ पुर्जी जारी भएका हरिभक्त न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् । हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धान बाट खुलेको प्रहरीको भनाइ छ । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले उनीहरूको खातामा नगद डिपोजिट गरेको भेटिएको छ । केशव तुलाधर पनि सहकारी सञ्चालक हुन् । तुलाधरको बैंक खातामा पनि ठगीको रकम आएको देखिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । पीडितहरूले प्रहरीलाई सन्देश शर्माले भनेअनुसार उनीहरुको खातामा नगद डिपोजिट गरेको बयान दिएका छन् ।

नक्कली भुटानी शरणर्थी प्रकरणमा संलग्न रहेको आरोपमा हालसम्म उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डेसहित ८ जना प्रहरीको हिरासतमा छन् । आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यसै ठगी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विरुद्ध पनि प्रहरीले पक्राउ पुजी जारी गरेको छ । उनी बुधबार एक कार्यक्रममा सहभागी हुन अर्घाखाची पुगेका थिए । बुधबार नै काठमाडौं आउने तयारीमा रहेका रायमाझी प्रहरीले पक्राउ पुजी जारी गरेको सुचना पाएका सँगै सम्पर्कविहीन बनेका छन् । उनी हाल कसैको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

footer