आज घटस्थापना, घरघरमा जमरा राखिदै
वि.सं.२०७८ असोज २१ बिहीवार १२:०५
shares

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुन दशैं आज बिहीबारदेखि सुरु भएको छ । घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको थियो । आज चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने छ ।
दशैंको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापना अर्थात घैंटो, घडा वा कलश स्थापना गर्नु नै घटस्थापनाको मूल अर्थ हो । घडाको मुखमा भगवान विष्णु, गलामा महादेव, मूलमा ब्रह्मा तथा मध्य भागमामा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ ।
आज बिहानै नित्यकर्म सकेर गाईको गोबरले पुजा कोठा अथवा जमरा राख्ने स्थानलाई शुद्धिकरण गरी शुद्ध स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौँ राखिन्छ । यसलाई नै जमरा राख्ने भनिन्छ ।
आजका दिन स्थापना गरिएको घडाको जल, नौ दिनसम्म देविलाई पूजा गएिको टीका प्रसाद र घडामा राखिएको जमरा विजयादशमीका दिन दुर्गादेवीको प्रसादको रुपमा मान्यजनबाट ग्रहण गरिन्छ । घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिने परम्परा रहेको छ ।


































