सत्ता र प्रतिपक्षीबीचकै कारण संसद बन्धक
वि.सं.२०८० चैत २९ बिहीवार १५:१७
shares

काठमाडौ । गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै उनी विरुद्ध संसदीय छानविन समिति बनाउनुपर्ने भन्दै कांग्रेसले संसद अवरोध गरिरहेकाले सत्ता पक्ष र संसदको प्रमुख विपक्षी दल नेपाली कांग्रेसबीचमा टकराव बढ्दै गएको छ । केही समय पहिला कांग्रेसले संसदमा गृहमन्त्री लामिछाने सम्वद्ध कार्यसूची बाहेकका अन्य कार्यमा संसद अवरुद्ध नगर्ने निर्णय गरेको थियो । तर पछिल्लो समयमा त्यस विषयलाई लिएर कांग्रेसभित्रै विवाद समेत उत्पन्न हुन थालेको छ ।
केही दिन पहिला सभामुख देवराज घिमिरेले बोलाएको शिर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई सोधे के तपाईहरु साँच्चिकै संसद चल्न नदिने हो भन्दा सभापति देउवा मौन रहे । कांग्रेसले पटक पटक संसदीय छानविन समिति बनाउनुपर्ने माग गरिरहेको छ भने सत्ता पक्ष त्यस्तो संसदीय छानविन समितिको आवश्यकता नपर्ने बताउँदै आएको छ ।
संसदीय छानविन समितिको मागमा पनि कांग्रेसभित्र समेत एक मत रहेको छैन । कांग्रेसको संस्थापनइतर पक्षका नेताहरु शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका अधिकांश नेताहरु गृहमन्त्री लामिछानेको बढ्दो लोकप्रियतालाई कम गर्ने यहि अवसर हो भन्ने ठानेर यसै विषयलाई अस्त्र बनाउने चाहनामा रहेका छन् भने सभापति देउवा र संस्थापन पक्षका केही नेताहरु यसैलाई भाष्य बनाएर अघि बढ्दा भविष्यमा हुने सत्ता समिकरणलाई लिएर रास्वपासँग दुरी बढाउने पक्षमा नरहेको हुनाले कांग्रेसभित्रै त्यसै विषयलाई लिएर विवाद उत्पन्न हुन सक्ने सम्भावना देखिएको छ ।
कांग्रेसले भने आफूले न्यायिक समिति बनाउ नभनेको र गृहमन्त्रीको राजिनामा समेत नमागेकोले संसदीय छानविन समिति बनाउनैपर्नै भनाई कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको रहेको छ । कांग्रेसले लामो समयसम्म गृहमन्त्री लामिछानेलाई संसदको रोष्टमबाट बोल्न समेत दिएको छैन । लामिछाने सांसद हुन उनलाई सांसदको रुपमा समेत रोष्टमबाट बोल्न नदिनु भनेको लोकतन्त्र र लोकतान्त्रिक व्यवस्था कै उल्लघन हो । आफूलाई लोकतन्त्रको हिमायती भन्ने कांग्रेसको यहि चरित्रले गर्दा कांग्रेसको चरित्र उदाँगो भएको छ ।





































