अर्को गठबन्धन बन्ने सम्भावना छैन, तर…
वि.सं.२०८१ मंसिर २० बिहीवार १०:४६
shares

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस–एमाले गठबन्धनको विकल्प नभएको बताउँदै अर्को गठबन्धन बन्न सक्ने सम्भावना समेत नभएको बताएका छन् । गत शनिबार रुपन्देहीमा उद्योग संघको ४० औँ स्थापना दिवस एवं औद्योगिक दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले त्यस्तो अभिव्यक्ति दिएका हुन् । वर्तमान गठबन्धनको विकल्प नभएको बताउँदै अर्को कुनै विकल्प हुन नसक्ने दाबी गर्दै उनले विगतमा गठबन्धन बन्ने र भत्किने गर्दै सरकार बने र बाहिरिने गरेकाले गर्दा स्थिर सरकार बनाउनका लागि सोँच, विचार गरेरै कांग्रेस–एमालेबीचमा गठबन्धन गरेकाले अहिले गठबन्धन भत्किने कुनै सम्भावना नरहेको बताएका हुन् ।
राजनीतिक अस्थिरताको पिडाबाट शिक्षा लिएर अहिले संसदका दुई ठुला दल कांग्रेस–एमालेको गठबन्धन बनाएको बताउादै अर्थमन्त्री पौडेलले अहिलेको संसदले दिन सक्ने स्थिरताको सरकार भनेको कांग्रेस–एमालेकै सरकार भएकाले अब सरकारले नीति र नेतृत्वमा स्थिरता दिने बताउँदै सरकारलाई अहिले पनि अस्थिर बनाउने प्रयास गरेको भएपनि कांग्रेस–एमालेको यो समिकरणलाई कसैले भत्काउने प्रयास नगरे हुन्छ भन्दै २०८४ को आम निर्वाचन सम्म अहिलेको कांग्रेस–एमालेको समिकरण चल्ने भएकाले गर्दा यो गठबन्धनलाई कसैले प्रभावित पार्न नसक्ने ठोकुवा समेत गरेका छन् । सो अवसरमा उनले वुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन र व्यवस्थापनका लागि सरकारले कार्यविधि बनाएको बताएका थिए ।
अर्थमन्त्री पौडेलले अहिलेको कांग्रेस–एमाले बीचको समिकरण २०८४ को आम निर्वाचन सम्म नै जाने बताएका भएपनि माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल जसरी भएपनि कांग्रेस–एमाले बीचको समिकरण भत्काउने प्रयासमा लागि परेका छन् । त्यही कारणले गर्दा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुष्पकमल दाहालले हप्तैपिच्छे कांग्रेसलाई प्रधानमन्त्री बनिदिनुप¥यो भनेर सन्देश पठाउने गरेको सार्वजनिक रुपमै उद्घोष गरेका छन् ।
पुष्पकमल दाहाल सत्ता प्राप्तिका लागि जस्तोसुकै हथकण्डा अपनाउन पछि पर्दैनन भन्ने प्रमाण विगतको उनको १८ महिने प्रधानमन्त्रीको कार्यकालले नै देखाईसकेको छ । आफ्नो स्वार्थका लागि कहिले कांग्रेससँग त कहिले एमालेसँग गठबन्धन गरेर दुवै दललाई आलोपालो खेलाउन सफल भएका दाहाल अहिले सत्ता बाहिर बस्नुपर्दा पानी बेगरको माछाजस्तो भएर छटपटाई रहेका हुनाले उनले जस्तोसुकै हथकण्डा अपनाउन सक्ने भएकाले गर्दा कांग्रेस–एमाले सतर्क रहनु आवश्यक रहेको छ ।



































