अमेरिकाको टीपीएस खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुल्यो
वि.सं.२०८२ भदौ ५ बिहीवार ११:१७
shares

काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।
यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ ।नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै अमेरिकी सरकारले त्यसबेला विना कागजात बसेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । त्यसबेला झण्डै १५ हजार नेपाली नागरिकले टीपीएस सुविधा लिएको बताइन्थ्यो ।
ट्रम्प प्रशासनले आप्रवासी र अवैध रुपमा बसोबास गरिरहेकाहरुप्रति कडा नीति लिइरहेका बेला अमेरिकाको होमल्याण्ड सेक्युरिटीले सुरुमा नेपाल, होन्डुरस र निकारागुआका नागरिकहरुको टीपीएस सुविधा यही अन्त्य हुने निर्णय गरेको थियो । नेपाली नागरिकको अगष्ट ५ देखि तथा होन्डुरस र निकारागुआका नागरिकको सेप्टेम्बरदेखि टीपीएस सुविधान खारेज गर्ने निर्णय भएको थियो ।
सो निर्णयविरुद्ध नेशनल टीपीएस एलायन्स र केही नेपालीहरुले अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दामा गत महिना तल्लो अदालतले नेपाल, होन्डुरस र निकारागुआका नागरिकको टीपीएस सुविधा अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई कम्तिमा नोभेम्बर १८ सम्म स्थगित गर्न आदेश दिएको थियो । तर बुधबार पुनरावेदन अदालतले त्यो फैसलालाई स्थगित गरेकाले टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।


































