प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ताको समय पछि तोकिने छ :आयुक्त भण्डारी
वि.सं.२०८२ असोज २० सोमवार २०:२२
shares

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनबारे तालिकामा केही उल्लेख गरिएको छैन ।
आयोगले सोमबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको समय तोकिएको छ । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र फागुन ३ देखि १८ गतेसम्ममात्र निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ । आयोगले फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम छ । तर प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनबारे आयोगको कार्यतालिकामा केही उल्लेख छैन ।कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयको तालिका पछि सार्वजनिक गरिने बताए ।
‘प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको समय पछि तोकिने छ’, आयुक्त भण्डारीले भने, ‘त्यो पछि गर्दापनि हुन्छ ।’निर्वाचनमा भाग लिन चाहने नयाँ दलले कात्तिक ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने आयोगद्वारा जारी विज्ञप्तिमा छ ।


































