इलामका पहिरो पिडितलाई पाकिस्तान दूतावासले गर्यो राहत सामग्री वितरण
वि.सं.२०८२ कात्तिक ५ बुधवार ०७:४८
shares

काठमाडौं । नेपालका लागि पाकिस्तानी दूतावासले इलामका बाढी पहिरो प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।
‘नेपाल–पाकिस्तान युवा परिषद्’सँगको सहकार्यमा नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाशमीसहितले माङसेबुङ र फाकफोकथुम नगरपालिकाका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।माङसेबुङ गाउँपालिकाको गजुरमुखी धाम पुगेर उनले प्रभावित परिवारलाई सामग्री हस्तान्तरण गरेका हुन्। गत असोज १७ र १८ गतेको अविरल वर्षाका कारण इलाममा पहिरो जाँदा ३७ जनाको मृत्यु भएको थियो।
इलामका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय तहका कार्यक्रममा राजदूत हाशमीले प्रभावित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै दुई देशबीचको मित्रता र सहयोगलाई बढाउन जोड दिए ।यसअघि, राजदूत हाशमीले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई विराटनगरमा भेट गरी विपद्का समयमा ऐक्यबद्धता व्यक्त गरेका थिए ।





































