त्रिभुवन विमानस्थलको गैरकानुनी कारोबारमा कल्याण श्रेष्ठ मुछिए, उनी सहित केही व्यक्तिका विरुद्ध जेन जी अलायन्सले अख्तियारमा दियो उजुरी
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:१७
shares

काठमाडौं । नवनगठित ‘जेन-जी एलायन्स’ (Gen-Z Alliance) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वप्रधानन्यायाधीश, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र एक व्यापारीको मिलेमतोमा ठूलो भ्रष्टाचार, सेटिङ र तस्करी भएको भन्दै अख्तियारमा छानबिन गरी कारबाहीको माग गर्दै उजुरी दर्ता गराएको छ ।
३ दिनअघि दर्ता उजुरीमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, क्यानका महानिर्देशक प्रदीप अधिकारी र व्यवसायी सुवास श्रेष्ठमाथि कारबाहीको माग गरिएको छ । उनीहरूले शक्तिको दुरुपयोग गरी राष्ट्रलाई गम्भीर हानी-नोक्सानी पुऱ्याएको उजुरीमा जिकिर गरिएको छ ।व्यवसायी सुवास श्रेष्ठले विवादास्पद ढङ्गबाट २०६९ सालदेखि नै अन्तर्राष्ट्रिय स्टेराइज्ड कक्षको लबीमा कफीसप तथा आन्तरिक विमानस्थलतर्फका सटरहरू कब्जा गरी बिना प्रतिस्पर्धा सञ्चालन गरिरहेको उजुरीमा उल्लेख छ ।
तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र क्यानका महानिर्देशक प्रदीप अधिकारीको मिलेमतोमा सुवास श्रेष्ठलाई फाइदा पुऱ्याउन र गैरकानुनी कारोबारको केन्द्र बनाउन सार्वजनिक पद र शक्तिको दुरुपयोग गरिएको आरोप उजुरीमा लगाइएको छ ।उक्त कफीसप पूर्वप्रधानन्यायाधीश श्रेष्ठको अप्रत्यक्ष लगानी रहेको दाबीसहित त्यसलाई तस्करीको केन्द्र बनाइएको र मासिक कमाइ बाँडफाँट गर्ने सर्तमा सुवास श्रेष्ठलाई सहयोग गरेको दाबी उजुरीमा गरिएको छ । श्रेष्ठका छोरा अभिषेक श्रेष्ठलाई पनि अधिकारीले क्यानबाट विभिन्न समयमा ५ अर्बभन्दा बढीको ठेक्का दिलाएको आरोप छ ।
महानिर्देशक प्रदीप अधिकारीको समेत मिलेमतोमा सुवास श्रेष्ठले विदेशी मुद्रा तस्करी गरिरहेको र यसअघि २०७६ चैतमा विदेश जाने क्रममा अवैद्य रकमसहित पक्राउ परेको तथ्य उजुरीमा उल्लेख छ । पक्राउ परेपछि सिल गरिएको पसल पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको दबाब र सेटिङमा तुरुन्तै खोलिएको भनिएको छ ।सुवास श्रेष्ठको ग्रिनतारा मिडिया ग्रुप मार्केटिङ प्रालिलाई विमानस्थल परिसरभित्र ९ वर्षदेखि ५० थान विज्ञापनका होर्डिङ बोर्ड राख्ने अनुमति दिएको साथै एक दशक बित्न लाग्दा पनि सम्झौतामा उल्लेख भएअनुसार ब्यूटिफिकेशन (सजावट) को काम नगरी होर्डिङ बोर्डको मात्रै काम गर्दै आएको आरोप छ ।
एउटा होर्डिङ बोर्डबाट वार्षिक ९ लाखसम्म असुलिएको तर महानगरपालिकालाई कर नतिरी उच्च अधिकारीहरूलाई मासिक कमिसन बुझाएको उजुरीमा उल्लेख छ ।‘जेनजी विद्रोह’ पछि अधिकारीले कल्याणलाई श्रेष्ठलाई सेटिङ मिलाउन हेलिकप्टरमार्फत लुक्ला घुमाउन लगेको उजुरीमा दाबी गरिएको छ ।जेन-जी एलायन्सका संयोजक प्रतीक्षा प्रतिरोध र सचिव सुमन अधिकारीले संयुक्त हस्ताक्षर गरी दर्ता गराएको उजुरीमा सुवास श्रेष्ठमाथि अकुत सम्पत्तिको छानबिन र कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लेखी पठाउन, कल्याण श्रेष्ठसहित सबै उच्च अधिकारीलाई कारबाही गर्न, त्रिविका सबै सटरहरू प्रतिस्पर्धाका आधारमा भाडामा लगाउन र त्यहाँ भइरहेका तस्करी लगायतका गैरकानुनी काम तत्काल बन्द गर्न माग गरिएको छ ।



































