विप्लव, जनार्दन शर्मा र घनश्याम भूसालले राजनीतिक सहकार्य गर्ने
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ११:३१
shares

काठमाडौं। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्मा र एकीकृत समाजवादी छाडेका घनश्याम भूसालले राजनीतिक सहकार्य गर्ने भएका छन्।
शुक्रबार बिहान भएको भेटपछि तीन नेता मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्ने गरी सहकार्य गर्न तयार भएका हुन्।शर्मा र भूसाल शुक्रबार बिहानै हरिसिद्धीस्थित विप्लवनिवास पुगेका थिए। त्यहाँ उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिष्ट पार्टीहरूबीच सहकार्य लगायतका विषयमा छलफल भएको थियो।
‘हामी सहकार्यमा छौं। आजको मुलुकको आवश्यकताअनुसार सहकार्यलाई विस्तार गर्ने, घनिभूत बनाउनेतर्फ छलफल गर्दैछौं,’ बैठकपछि भूसालले भने, ‘मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्नेगरी सहकार्यलाई विकसित गर्दैजानेछौं।’उनले सहकार्यका लागि एकताबद्ध भएर जाने भन्दै तर त्यसलाई एकीकरण भन्ने भ्रम भने पाल्न नहुने बताए।‘हामी एकताबद्ध भएर जानेछौं। तर, एकीकरण भन्ने भ्रम नपरोस्,’ उनले भने।
नेता भूसालले आफूहरूबीच विगतमा पनि सहकार्य भएको भन्दै थप समीक्षा गरिने बताए। ‘विगतमा पनि हाम्रो सहकार्य छँदैथियो। पातलो भएको थियो । अब त्यसलाई समीक्षा गर्नेछौं,’ उनले भने।बैठकका विषयलाई समेटेर तीन नेताको तर्फबाट आजै संयुक्त विज्ञप्ति जारी हुँदैछ।नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलबीच एकता हुने भएपछि शर्मा र भूसाल अलग भएर आआफ्ना अभियान चलाउने घोषणा गरेका छन्। शर्माले प्रगतिशील अभियान नेपालको नामबाट युवालाई एकीकृत गर्दै अभियान चलाउने औपचारिक घोषणा गरेका छन्।
भूसालले एकीकृत समाजवादीबाट एकतामा नगएकाहरूलाई एकीकृत गर्दै अभियान अगाडि बढाउने बताएका छन्।विप्लवले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा अन्तरिम सरकार निर्माण लगायतको मागसहित र्याली र जनसभा गरेका थिए। सभामार्फत् उनले सच्चा कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक रहेको बताएका थिए।



































