पूर्व गृहमन्त्री लेखकले जाँचबुझ आयोगलाई दिएको बयानको पूर्ण अंश यस्तो छ
वि.सं.२०८२ पुस १४ सोमवार १५:५९
shares

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन-जी आन्दोलन जाँचबुझ आयोगसमक्ष ६ पृष्ठको लिखित बयान पेश गरेका छन् । भदौ २३-२४ गतेको घटनालाई उनले मुलुक र लोकतन्त्रविरुद्धको एक नियोजित षड्यन्त्र र सुनियोजित आक्रमणको संज्ञा दिएका छन् ।
सुशासनका लागि जेन-जी समूहले गरेको आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिएकोमा घुसपैठ भएर हिंसा भड्किएको लेखकको भनाइ छ । आन्दोलनकारीका मागहरू जायज भए पनि लोकतन्त्रविरोधी तत्वहरूले आन्दोलनलाई ‘हाइज्याक’ गरेको लेखकले बताएका छन् ।तत्कालीन गृहमन्त्रीको हैसियतमा आफूले भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएर कुनै पनि हालतमा मानवीय क्षति (Casualty) हुन नदिन र संयमता अपनाउन सुरक्षा प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएको उनको भनाइ छ ।
‘बल प्रयोग गर्ने वा कसैको ज्यान लिने कुनै लिखित वा मौखिक आदेश दिएको छैन, न त कानुनले गृहमन्त्रीलाई त्यस्तो अधिकार नै दिन्छ,’ लेखकले बयानमा भनेका छ्न् ।२४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख अङ्गहरूमाथि भएका आक्रमणहरू कुनै पनि देशभक्त नेपालीले कल्पना गर्न नसक्ने उनको टिप्पणी छ ।
आन्दोलनमा भएको मानवीय क्षतिको पीडाबोध गर्दै आफूले नैतिक जिम्मेवारीसाथ राजीनामा दिएको उनले प्रष्टोक्ति दिएका छन् ।






































