बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन
वि.सं.२०८२ पुस १५ मंगलवार ०८:५१
shares

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की प्रमुख खालिदा जियाको ८० वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
खालिदाको परिवार र पार्टीका नेताहरूले उनको निधन भएको पुष्टि गरेका छन् ।खालिदा नोभेम्बर २३ मा अस्पतालमा भर्ना भएकी थिइन् र डिसेम्बर ११ देखि भेन्टिलेटरमा थिइन् । खालिदा कलेजो सिरोसिस, मिर्गौला, फोक्सो र मुटुको रोगबाट पीडित थिइन् ।
उनका छोरा तारिक रहमान १७ वर्षको निर्वासनपछि हालै बंगलादेश फर्किए र आफ्नी आमाको पार्टीको बागडोर सम्हालेका थिए ।खालिदा भ्रष्टाचार मुद्दामा दोषी ठहरिएकी थिइन् र जेलमा थिइन् । तर शेख हसिनाको सरकारको पतनपछि उनी अगस्ट २०२४ मा जेलबाट रिहा भएकी थिइन् ।
खालिदा जनवरी २०२५ मा उपचारको लागि लन्डन गएकी थिइन् । स्वास्थ्यमा सुधार आएपछि उनी मे २०२५ मा लन्डनबाट फर्किइन्, तर नोभेम्बर २०२५ मा उनको स्वास्थ्य बिग्रियो र उनलाई अस्पताल भर्ना गरिएको थियो ।
































