पार्टीको हितविपरित काम नगर्न र अनुशासनमा सांसदहरूलाई सभापति रविको चेतावनी
वि.सं.२०८२ चैत ४ बुधवार १६:२८
shares

काठमाडौं । २१ फागुनमा सम्पन्न आम निर्वाचनमा ऐतिहासिक जनमत प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई जिम्मेवार र अनुशासित बन्न कडा निर्देशन दिए ।
ललितपुरको ग्वार्कोमा जारी अभिमुखीकरणमा बुधबार सम्बोधन गर्दा सभापति लामिछाने हिजोको विद्रोही र आलोचक छविबाट माथि उठेर उनी एउटा जिम्मेवार नेता र संस्थागत नेतृत्वको रूपमा रूपान्तरण हुन खोजेको सन्देश दिए ।लामिछानेले पुरानो राजनीतिक शैलीको अन्त्य, इतिहासको सम्मान, सामाजिक न्याय र लगानीकर्तालाई आश्वस्त पार्ने विषयमा आफ्नो सम्बोधन केन्द्रित गरे । उनको मन्तव्य एउटा ‘पपुलिस्ट’ नेताको भाषणबाट जिम्मेवार नेता बन्ने दिशातर्फको पाइला जस्तो अनुभूति हुनेगरी आएको छ ।
उनले आफ्ना सांसदहरूलाई शक्तिको उन्मादबाट जोगाउन, जिम्मेवारीको बोध गराउन र दललाई एउटा परिपक्व, सहिष्णु र परिणाममुखी संस्थाको रूपमा रूपान्तरण गर्न गम्भीर, स्पष्ट र सन्तुलित निर्देशन दिएका छन्।यसक्रममा उनले इतिहास निर्माण गरेका परम्परागत दलका नेताहरूप्रति कृतज्ञता प्रकट गरे, धन्यवाद दिए । सँगै, भविष्य आफ्नो दलले बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । सामाजिक सञ्जालमा प्रतिक्रियात्मक देखिने नेता कार्यकर्ताहरूलाई त्यस्तो अभ्यासबाट बाहिर निस्कन निर्देशन दिए ।
बहुरंगी पृष्ठभूमिबाट आएका सांसदहरूलाई पार्टीको अनुशासनमा चल्न र मतदाताको मन दुख्ने र निरास बनाउनेगरी अभिव्यक्ति नदिन पनि लामिछानेले आह्वान गरे ।
लामिछानेको १० सन्देशहरूः
१. अब राजनीति हिजोको जस्तो चल्नेवाला छैन
रविको पहिलो र मुख्य सन्देश नै ‘अब राजनीति हिजोको जस्तो चल्नेवाला छैन’ भन्ने हो। उनले आफ्ना सांसदहरूलाई स्पष्ट पारेका छन्- सत्ताको दौडधुप, गुटबन्दी, बिचौलियासँगको उठबस र शक्तिको अभ्यास अब हिजोका पुराना दलहरूको जस्तो हुनेछैन। यसले रास्वपा परम्परागत राजनीतिको निरन्तरता नभई त्यसको ‘विकल्प’ हो भन्ने भाष्यलाई पुनः स्थापित गर्न खोजेको छ।
२. सांसदको मूल काम कानुन निर्माण गर्नु हो
नेपालको राजनीतिमा सांसदहरू प्रायः विकास निर्माणका एजेन्ट (ठेकेदार, बाटो खन्ने, पुल हाल्ने) का रूपमा बुझिन्छन्। तर, रविले सांसदको प्राथमिक काम ‘कानुन निर्माण’ हो भनेर सैद्धान्तिक स्पष्टता दिएका छन्। कानुनका कुन दफाले जनताको धारामा पानी आउन रोकेको छ भनेर अध्ययन गर्न निर्देशन दिनुले उनीहरूलाई ‘पपुलिजम’ बाट ‘पोलिसी मेकिङ’ (नीति निर्माण) तर्फ डोर्याउन खोजेको देखिन्छ।
३. ‘राइट टु रिकल’ को चेतावनी
रास्वपाले आफ्नो विधानमा राखेको ‘राइट टु रिकल’ (प्रत्याह्वानको अधिकार) लाई रविले चेतावनीका रूपमा प्रस्तुत गरेका छन्। दुई तिहाइ नजिकको बहुमत भए पनि सरकारको सङ्ख्या घट्ने प्रवाह नगरी अनुशासनहीन वा जनअपेक्षा विपरीत काम गर्नेलाई फिर्ता बोलाइने कडा चेतावनीले दलभित्रको आन्तरिक अनुशासन र उत्तरदायित्वलाई बलियो बनाउने सङ्केत गर्छ।
४. ‘म’ बाट ‘देश’ केन्द्रित राजनीतिमा आउनुहोस्
‘तपाईंको र मेरो मन्त्री/प्रधानमन्त्री बन्ने सपनाको भारी यो समाजले बोक्दैन, समाजको सपनाको भारी हामीले बोक्ने हो,’ भन्ने रविले पार्टीभित्र सन्देश दिन चाहिरहेका देखिन्छन् । यसले सांसदहरूलाई व्यक्तिगत स्वार्थ, पद र शक्तिको लालसाबाट माथि उठेर सामूहिक र राष्ट्रिय स्वार्थमा केन्द्रित हुन गम्भीर अपिल गरेको छ। उनले प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहलाई पनि केही सन्देश दिन खोजेका छन् ।
५. सार्वजनिक अभिव्यक्ति र कूटनीतिक संवेदनशीलता ख्याल गर्नुहोस्
हिजो रास्वपा नेताहरू ‘भाइरल’ हुन रुचाउँथे। तर आज रविले सांसदहरूलाई मिडियामा हल्काफुल्का टिप्पणी गर्नबाट रोक लगाएका छन्। विशेषगरी परराष्ट्र सम्बन्ध र अर्थतन्त्रजस्ता गम्भीर विषयमा बोल्दा सचेत हुन दिएको निर्देशनले उनी दलको नयाँ उचाइ र त्यसले ल्याएको कूटनीतिक तथा राष्ट्रिय संवेदनशीलताप्रति पूर्ण जानकार रहेको देखाउँछ। उनले स्पष्ट भनेका छन्, ‘तपाईंको हल्का अभिव्यक्तिले देशलाई दीर्घकालीन असर गर्न सक्छ।’
६. चुपचाप काम र विज्ञहरूको सम्मान
राजनीतिमा प्रायः मिडियामा छाउने अनुहारले मात्र अवसर पाउँछन्। तर रविले ‘छेकिएका’ र चर्चामा नआएका विज्ञहरूलाई पनि पार्टीले हेरिरहेको र मिडियालाई समेत त्यस्ता विज्ञहरूतर्फ क्यामेरा फोकस गर्न आग्रह गरेर दलभित्रको योग्य सांसदहरू पनि छन् भन्ने सन्देश दिनुका साथै उनीहरूको प्रवर्द्धन गर्न खोजेको देखिन्छ। उनले भने, ‘प्रत्यक्ष र समानुपातिक सांसदहरूबीच कुनै विभेद हुनुहुँदैन। हामी समय र परिस्थितिले जोडिएका हौँ, अब सामूहिक खेलाडी (टिम प्लेयर) का रूपमा काम गर्नुपर्छ।’
उनले थपे, ‘व्यक्तिगत रूपमा कसैको आचरण मन पर्नु नपर्नु बेग्लै कुरा हो, तर यतिखेर हामीले हेर्ने भनेको देशको संविधान, संसद्को नियमावली र पार्टीको विधान हो।’
७. इतिहासको सम्मान र सहिष्णुताको अपिल
रविको मन्तव्यको सबैभन्दा परिपक्व पक्ष भनेको उनले पुराना राजनीतिक दल र नेताहरूको योगदानलाई गरेको सम्मान हो। ‘इतिहास उहाँहरूले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ’ भन्ने भाष्यले राजनीतिक ध्रुवीकरणलाई कम गर्न खोजेको छ।
साथै, आफ्ना समर्थकहरूलाई ‘अराजक र असहिष्णु’ नबन्न र विपक्षीलाई कटाक्ष नगर्न दिएको कडा निर्देशनले रास्वपालाई एउटा सहिष्णु र मध्यमार्गी लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने रणनीतिक प्रयास देखिन्छ।
८. भौतिक पूर्वाधार भन्दा ‘सामाजिक न्याय’ मा जोड दिनुपर्छ
विकास भनेको भ्युटावर वा चिल्ला सडक मात्र होइन, ‘सामाजिक न्याय’ हो भन्ने रविको परिभाषाले रास्वपाको वैचारिक धरातललाई स्पष्ट पारेको छ। कर्णाली र मधेसका जनताको जीवनस्तर सुधारलाई उनले विकासको मुख्य सूचक मानेका छन्। साथै, राई–लिम्बु समुदायको प्रतिनिधित्व हुन नसकेकोमा सार्वजनिक रूपमै क्षमा माग्दै आगामी दिनमा समावेशितालाई प्राथमिकता दिने प्रतिबद्धताले दलको समावेशी समानुपातिक व्यवस्थाप्रतिको बुझाइलाई संकेत गरेको छ ।
९. लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त
आफ्नो मन्तव्यमार्फत रविले आन्तरिक सांसदहरूलाई मात्र होइन, बाह्य जगत्लाई पनि सन्देश दिएका छन्। निजी क्षेत्र, गैरआवासीय नेपाली (डायस्पोरा) र अन्तर्राष्ट्रिय समुदायलाई ‘तपाईंको लगानी सुरक्षित छ, अब नेताले होइन नीतिले संरक्षण गर्छ’ भनेर नयाँ सरकारले आर्थिक कूटनीति र लगानीको वातावरणलाई प्राथमिकतामा राखेको सन्देश दिएका छन् ।
१०. संस्थागत रूपान्तरण: ‘वि विल ह्यान्डल इट विथ केयर‘
नयाँ र कलिलो शक्तिले दुई तिहाइ बहुमत पाउँदा अधिनायकवाद वा लोकतन्त्र खतरामा पर्छ कि भन्ने आम आशङ्कालाई रविले चिर्ने प्रयास गरेका छन्। ‘मुलुक नयाँ मान्छेको हातमा गयो, लोकतन्त्र खतरामा पर्छ कि वा अधिनायकवाद आउँछ कि भन्ने शङ्का र भ्रम कसैलाई छ भने म प्रस्ट पार्न चाहन्छु- मुलुक राम्रो हातमा छ,’ उनले भने, ‘वि विल ह्यान्डल इट विथ केयर’। सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लिएर जान अहोरात्र काम गर्नेछौँ।’
लामिछानेको यो आश्वासनले नागरिक र सरोकारवालालाई शान्त पार्ने र लोकतान्त्रिक व्यवस्थाप्रति रास्वपाको प्रतिबद्धता जनाउने काम गरेको छ।




































