गृहमन्त्री गुरूङ दीपक भट्ट, सुलभ अग्रवाल लगायतको पार्टनर भएको खुलासा
वि.सं.२०८३ वैशाख ६ आइतवार २१:५६
shares

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङ सम्पत्ति शुद्धीकरणका अभियुक्तहरू दीपक भट्ट, सुलभ अग्रवाल लगायतको बिजनेस पार्टनर भएको खुलेको छ ।
सुशासन र परिवर्तनको नारा दिएर भएको जेनजी आन्दोलनसँगै राजनीतिमा आएर छोटो समयमै शक्तिशाली पदमा पुगेका गुरुङ बिचौलिया दीपक भट्टको प्रभावमा लाइसेन्स पाएको स्टार माइक्रो इन्स्योरेन्सको संस्थापक सेयर धनी रहेको खुलेको हो।उक्त इन्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९औँ नम्बरमा सुधनको नाम छ । उक्त कम्पनीमा उनले २५ लाख रुपैयाँ सेयर लिएको लगानी भएको देखिएको छ ।
उक्त कम्पनी २०७९ सालमा लाइसेन्स पाएको लञु बीमा कम्पनी हो । आईओ समेत निष्कासन हुन बाँकी रहेको उक्त कम्पनीमा दीपक भट्ट लगानी रहेको कम्पनी इन्फिनिटी होल्डिङ्गस, जगदम्बा ग्रुप तथा शंकर ग्रुपको लगानी रहेको देखिन्छ । यी समूहका सञ्चालकहरू हाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।
उक्त इन्स्योरेन्समा सेयर भएको देखिए पनि सुधनले यो विवरण सम्पत्ति विवरणमा भने खुलाएका थिएनन् । गृहमन्त्री सुधनले गत साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा होप होल्डिङ्स र अनुज प्रमियम अपार्टमेन्टस् नामक कम्पनीमा मात्रै संस्थापक शेयर लगानी भएकबध उल्लेख गरेका थिए ।
यसबाहेक उनले धितोपत्र बजारमा कारोबार हुने शेयर भनेर २ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर रहेको विवरण प्रस्तुत गरेका छन् ।तर, स्टार माइक्रो इन्स्योरेन्सको यो शेयर धितोपत्र बजारमा कारोबार हुने प्रकृतिको शेयर होइन,त्यसैले यो शेयर यो समूहभित्र पर्दैन ।





































