नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

169
shares

पूर्वप्रधानमन्त्री शेबरहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो। देउवा दम्पत्तिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँबाट अनुमति लिँदा नै प्रक्रिया नमिलेको सर्वोच्चले औँल्याएको छ।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति माग गर्दा र प्रदान गर्दा यी कानुनी व्यवस्थाले निर्दिष्ट गरे बमोजिमको विधि र ढाँचा अवलम्बन भएको देखिँदैन। यो अवस्थामा पक्राउ पुर्जी जारी गर्ने अनुमति माग गर्ने र प्रदान गर्ने कार्यमा प्रचलित कानुनको प्रक्रिया अवलम्बन भएको देखिन आएन,’ सर्वोच्चको आदेशमा भनिएको छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १६ को उपदफा (१) को खण्ड (ग) मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कसुर गरेको लागेमा वा कसुरमा संलग्न भएको वा सो शंका गर्नुपर्ने मनासिव आधार भएको व्यक्ति फरार हुने वा कुनै प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानको कारबाहीमा बाधा अवरोध गर्ने वा प्रतिकुल प्रभाव पर्न सक्ने मनासिव आधार भएमा निजलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम थुनामा राख्ने व्यवस्था छ।

तर कसैलाई पक्राउ गर्दा अनुसन्धान निकाय र मुद्दा हेर्ने अदालतले यी कानुनी व्यवस्थाको पालना गर्नु आवश्यक र अनिवार्य हुने सर्वोच्चले भनेको छ। देउवा दम्पतीको मुद्दामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति माग गर्दा र काठमाडौँ जिल्ला अदालतबाट अनुमति प्रदान गर्दा आधार र कारण समेत खुलाएको नदेखिएको सर्वोच्चले औँल्याएको छ।

‘कसुरको अनुसन्धानका लागि प्रचलित कानुनको अधिनमा रही विधिसम्मत रुपमा पक्राउ गर्न सकिनेमा विवाद नभए पनि त्यस्तो पक्राउ स्वेच्छाचारी रुपमा हुनुहुँदैन। यसरी पक्राउ गर्दा प्रचलित कानुनले स्थापित गरेको विधि प्रक्रिया अनुरुप हुनुपर्ने कुरामा कुनै विवाद हुन सक्दैन। त्यस्तो हुँदा यस कुरामा अनुसन्धान निकाय र अदालत सदैव सचेत हुन जरुरी हुन्छ’, आदेशमा भनिएको छ।

सम्पत्ति शुद्धीकरण (मनी लउन्डरिङ) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको मिति २०८३/१/१८ को नेपाल राजपत्रमा प्रकाशित अध्यादेशले सो ऐनको दफा २२ को उपदफा (२) मा प्रतिबन्धात्मक वाक्यांश थप गरी विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकीलले विशेष अदालतमा मुद्दा दायर गर्ने छ भन्ने व्यवस्था रहेको छ।तर यो मुद्दामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको आदेशमा भनिएको छ। निवेदकलाई विशेष अदालतबाट पक्राउ पुर्जी जारी गर्न आधार र कारण खोली सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट माग भएको र विशेष अदालतबाट तदनुरुप अनुमति प्रदान भएको मिसिलबाट नदेखिएको आदेशमा उल्लेख छ।

‘माथिल्लो प्रकरण नं. (८) मा उल्लेख र विश्लेषण गरिए अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनुपूर्व काठमाडौँ जिल्ला अदालतबाट मिति २०८२ चैत २४ मा पक्राउ पुर्जी जारी गर्न दिइएको अनुमति स्वतः निस्कृय हुने देखियो’, आदेशमा भनिएको छ।सर्वोच्चले भनेको छ, ‘२०८२ चैत २४ मा काठमाडौं जिल्ला अदालतबाट निवेदकलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गरिएको आधारमा निवेदकहरूलाई पक्राउ नगर्नु नगराउनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ।’

उपचारका लागि विदेशमा रहेका देउवा दम्पतीलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्न पत्राचार गरेको थियो। तर, इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्नका लागि आवश्यक कागजात पर्याप्त नभएको भन्दै पठाउन भनेको थियो।त्यसपछि पनि नेपाल प्रहरीको इन्टरपोल शाखाले थप कागजात पठाएको थियो। इन्टरपोलले भने आवश्यक प्रमाण नपुगेको भन्दै ‘रेड नोटिस’ जारी गर्न अस्वीकार गरेको थियो।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports