आर्थिक सर्वेक्षण : आर्थिक वृद्धि -३ .८५ प्रतिशत र प्रतिव्यत्ति आय १५३५ डलर पुग्ने प्रक्षेपण
वि.सं.२०८३ जेठ १३ बुधवार १८:०१
shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले विश्व अर्थतन्त्रमा अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बीच पनि नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको जनाएको छ ।
सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने अनुमानका बीच नेपालको वृद्धिदर सकारात्मक रहेको सरकारको दाबी छ । यस अवधिमा अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने र प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर हुने अनुमान गरिएको छ ।
प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने देखिएको छ भने अन्य प्रदेशहरू औसतभन्दा कम वृद्धिदरमा रहने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको ७६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । आर्थिक गतिविधिमा बागमती प्रदेशको दबदबा कायम रहँदै कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान रहने सर्वेक्षणमा उल्लेख छ ।
धान उत्पादन भने ४.२० प्रतिशतले घट्दै ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको छ, जसले कृषि क्षेत्रमा चुनौती कायमै रहेको संकेत गरेको छ । राजस्व र खर्चको अवस्थामा संघीय राजस्व फागुनसम्म ३.२ प्रतिशतले वृद्धि भएको छ भने सरकारी खर्च १०.४ प्रतिशतले बढेको छ । तर पुँजीगत खर्च अपेक्षाकृत कमजोर रहेको सर्वेक्षणले देखाएको छ । सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो । चालू आर्थिक वर्षमा सरकारले ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।
बाह्य क्षेत्रका सूचकहरूलाई सर्वेक्षणले मजबुत देखाएको छ । विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ । तर, व्यापार घाटा ११।२ प्रतिशतले बढ्दै १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ, जुन अर्थतन्त्रका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ ।
प्रविधिमैत्री भुक्तानी प्रणालीमा पनि उल्लेख्य विस्तार भएको छ । फागुनसम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको सर्वेक्षणमा उल्लेख छ । समग्रमा, आर्थिक सर्वेक्षणले बाह्य क्षेत्रमा मजबुती र समष्टिगत सूचकहरूमा सुधार देखाए पनि आन्तरिक उत्पादन, लगानी र व्यापार सन्तुलनका चुनौतीहरू अझै कायम रहेको संकेत गरेको छ ।





































