बहुमतको दम्भमा सभामुखको भूमिकामै प्रश्न ?
वि.सं.२०८३ जेठ २१ बिहीवार ११:५९
shares

काठमाडौ । गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई मत पाएको रास्वपा नेतृत्वको बालेन सरकारले र रास्वपाले संसदलाई पेलेरै अघि बढ्ने रणनीति लिएको जस्तो देखिएको छ । प्रधानमन्त्री बालेन साह ससदप्रति उत्तरदायी हुन सकेका छैनन् भने रास्वपाको संस्थापक नेता रहेका डोल प्रसाद अर्याल सभामुख रहेकाले उनले समेत विपक्षी दलहरुलाई पेलेरै अघि बढ्ने रणनीति लिएको जस्तो देखिएको छ ।
संसदीय प्रणालीमा बहुमतको सरकार र अल्पमत अर्थात विपक्षी दलको संसद भने मान्यता रहेको छ । तर संसदमा विपक्षी दलहरुको संख्या कम रहेकाले झण्डै दुई तिहाईको दम्भ देखाएर संसदको बैठक सञ्चालन गर्ने रणनीतिमा स्वयम् सभामुख लागेको आभाष पाउन थालिएको छ । संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने विश्वव्यापी मान्यता रहेको भएपनि सभामुखले प्रधानमनत्रीलाई संसदमा उठेका प्रश्नको जावफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिन सकेका छैनन् । संसदबाटै प्रधानमन्त्री चुनिएका प्रधानमन्त्रीले संसदलाई वेवास्ता गर्नु र सांसदहरुले उठाएका महत्वपूर्ण प्रश्नको जवाफ नदिनु भनेको संसदीय व्यवस्थाकै उल्लंघन हो ।
विगतमा समेत संसदमा उठेका विवादका विषयमा सभामुखले सहजीकरण गर्ने गरेका थिए । सभामुखको सहजीकरणमा संसदको जस्तोसुकै गतिरोध पनि अन्त्य भएको इतिहास साक्षीरहेकोले गर्दा अहिले पनि सभामुख नै अग्रसर हुनुपर्नेमा उल्टो विपक्षी सांसदलाई कारबाही गर्ने उद्घोष गर्नु आफैँमा हास्यास्पद रहेको छ । विपक्षीहरुले पनि संसदीय गतिविधिमा प्रस्तुत हुँदा आफ्नो मर्यादा भुल्नु हुँदैन । संसद अवरोध भएको अवस्थामा सभामुखले पेलेर अघि बढ्ने प्रयास गर्नु किमार्थ उचित हुन सक्दैन ।
संसदमा विरोध प्रदर्शन गर्दा विपक्षी सांसदहरु पनि अमर्यादित हुनु हुँदैन । संसदमा सत्ताको छायाँमा परेमा सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसक्ने भएकाले गर्दा सभामुख निष्पक्ष भएर आफ्नो भूमिका निभाउन सक्नुपर्दछ । तर अहिले त्यस्तो अवस्था देखिएको छैन । विपक्षी सांसदहरुले प्रधानमन्त्रीलाई संसदमा उठेका प्रश्नको जवाफ दिन आग्रह गरे, सभामुखलाई समेत आग्रह गर्ने तर सभामुखले आफूले प्रधानमन्त्रीलाई सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने रुलिङ गर्न सक्ने अधिकार आफूलाई नभएको लंगडो तर्क पेश गरेका थिए ।
विगतका सभामुखहरुले प्रधानमन्त्रीलाई सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका धेरै उदाहरणहरु रहेका छन् । केपी ओली प्रधानमन्त्री रहेका बेला एमालेबाट सभामुख बनेका सभामुखले समेत प्रधानमन्त्रीलाई सांसदले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेको इतिहास साक्षी रहेको छ । जान्नेलाई छान्ने भन्ने रास्वपाले विगतका प्रधानमन्त्रीले संसदमा उठेको प्रश्नको जवाफ दिनुपर्दछ भन्दै संसदमा नै विरोध प्रदर्शन गरेको थियो ।
अहिले रास्वपा नेतृत्वको बालेन सरकार रहेको छ । संसदमा रास्वपाको झण्डै दुई तिहाई मत रहेकोले गर्दा विगतमा आफैँले उठाउन गरेको विषय त्यसमा पनि त्यसबेला रास्वपाका उपनेता रहेका डोल प्रसाद अर्याल सभामुख रहेकाले उनले किन आफ्नो पार्टीको विगतको अभ्यासलाई उल्लंघन गर्दै विपक्षीलाई पेल्ने रणनीति लिएका छन् त्यो नै रहस्यको विषय बनेको छ ।



































