दुई पटकको विश्व विजेता उरूग्वे नवप्रवेशी केप भर्डेसग बराबरीमा अडकियो
वि.सं.२०८३ असार ८ सोमवार ०७:४३
shares

काठमाडौं । विश्वकपमा पहिलो पटक सहभागी बनेको केप भेर्डेको प्रभावशाली यात्रा जारी रहँदा उसले दुई पटकको च्याम्पियन उरुग्वेसँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।
समूह ‘एच’ अन्तर्गत भएको खेलमा केप भेर्डेले सुरुआती अग्रता लिए पनि उरुग्वेले पुनरागमन गर्दै खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो । स्पेनसँग गोलरहित बराबरी खेलेर सबैलाई चकित पारेको केप भेर्डेले २१ औँ मिनेटमा केभिन पिनाको लामो दूरीको फ्रिकिकमार्फत अग्रता बनाएको थियो । उनको प्रहार रक्षापंक्तिको बीचबाट हुँदै जाली चुमेको थियो ।
अग्रता लिएपछि केप भेर्डे आक्रामक बनेको थियो । तर त्यसक्रममा रक्षापंक्तिमा खाली ठाउँ छाड्दा उरुग्वेले त्यसको फाइदा उठायो । माक्सी अराउजोले सिड्नी लोपेस काब्रालले आफ्नै पोस्टतर्फ फर्काएको बललाई हेडमार्फत गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोबियोले अराउजोकै पासलाई नजिकबाट गोलमा परिणत गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाएका थिए । उरुग्वेको निरन्तर दबाबका कारण केप भेर्डेलाई आक्रमण निर्माण गर्न कठिनाइ भइरहेको थियो । तर उसले हार मानेन र खेलमा पुनरागमन गर्यो ।
उरुग्वेका रक्षक मथियास ओलिभेराले आफ्नै क्षेत्रमा बल पास गर्ने क्रममा हेलियो भारेलालाई नदेख्दा त्यसको महँगो मूल्य चुकाउनुपर्यो । भारेलाले बल नियन्त्रण गर्दै गोलरक्षकलाई छलाएर खाली पोस्टमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
उरुग्वेले अन्तिम समयमा विजयी गोल गर्ने अवसर पनि पाएको थियो । फेडेरिको भाल्भेर्डेले गरेको गोल अफसाइडका कारण मान्यता पाएन । इन्जुरी समयमा दुवै टोलीले थप अवसर सिर्जना गरे पनि निर्णायक तेस्रो गोल भने निस्कन सकेन ।
दुई खेलबाट समान दुई अङ्क जोडेको उरुग्वे दोस्रो तथा केप भेर्डे तेस्रो स्थानमा रहेका छन् । दुवै टोलीको अन्तिम ३२ मा पुग्ने सम्भावना अझै कायम रहेको छ ।




































