प्रदेश सरकारमा सहकार्यका लागि नेकपा एमाले र नेकपाबीच भयो सहमती
वि.सं.२०८३ साउन ९ शनिवार १८:२५
shares

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सबै प्रदेश सरकारमा सहकार्यका लागि सहमति भएको छ ।
दुवै दलले प्रदेशसभामा देखिएको बजेट निर्माणसम्बन्धी असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यका साथ सहमति गरेको जारी सहमतिपत्रमा उल्लेख छ ।
सहमति अनुसार प्रदेश सभामा दुवै दलले सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन् । सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले पाउने भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ ।
यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिमा उल्लेख छ ।
सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।






































