अमेरिकाले नेपाली सेनालाई ८ वटा हेलिकोप्टर अनुदान सहयोगमा उपल्ब्ध गराउने
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १०:३५
shares

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई १५ करोड अमेरिकी डलर (२२ अर्ब ८० करोड रुपैयाँ) बराबरको हेलिकोप्टर, ड्रोन र डुंगाहरू अनुदानमा उपलब्ध गराउने भएको छ ।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटमा सो जानकारी दिएकी हुन् ।“कार्यवाहक राजदूत बोल्डिनले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ गर्न अमेरिकाले १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरका अमेरिकामा निर्मित हेलिकोप्टर, ड्रोन र नदीमा चल्ने डुंगाहरू उपलब्ध गराइरहेको कुरा उल्लेख गर्नुभयो,” काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाले ८ वटा वेल हेलिकोप्टर, केही उच्च क्षमताका ड्रोन र डुंगाहरू नेपाललाई आउँदो वर्षबाट उपलब्ध गराउने छ । सन् २०२७ मा दुईवटा हेलिकोप्टर नेपाल आइपुग्ने छन् । बाँकी ६ वटा हेलिकोप्टर सन् २०२९ सम्म नेपाल पठाउने तयारी भइरहेको छ ।“यी सामग्रीहरू अर्को वर्षदेखि प्राप्त हुन थाल्नेछन् । यसअघि गत शरद ऋतुमा अमेरिकाले ३ करोड ८० लाख डलर मूल्य बराबरका ‘एम२८ स्काईट्रक’ विमानहरू सहयोगस्वरूप प्रदान गरेको थियो, जसले राहत कार्यहरूमा मद्दत पुर्याउँदै आएका छन्,” अमेरिकी दूतावासले भनेको छ ।
प्रधानसेनापति सिग्देलसँगको भेटमा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि नेपाललाई पुनर्स्थापनामा सघाउ पुर्याइरहेको अमेरिकी विपद् पूर्वतयारी र प्रतिकार्य सहयोगका विषयमा छलफल भएको थियो ।कार्यवाहक राजदूत बोल्डिनले भेटमा विपद्मा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै बेपत्ता भएका नेपाली सेनाका जवानहरूका परिवारजनप्रति सहानुभूति प्रकट गरेकी थिइन् ।
“अमेरिकी प्रविधि, उपकरण र विज्ञतामार्फत, अमेरिकाले नेपाललाई खोज तथा उद्धार, घाइतेहरूको हवाई उद्धार र आपत्कालीन प्रतिकार्य क्षमता सुदृढ गर्न सघाउँदै आएको छ,” अमेरिकी दूतावासले भनेको छ ।





































