सबै पूर्वप्रधानमन्त्रीहरू विरूद्ध उजुरी आएको छ : अख्तियार प्रमुख राई
वि.सं.२०८३ भदौ ४ बिहीवार १६:४३
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी परेको छ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले यस विषयमा जानकारी दिएका हुन्। सांसदले सोधेको प्रश्नको उत्तरमा अख्तियार प्रमुख राईले जिवित रहेका सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी आएको बताए।‘पूर्वप्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ, हेर्छौं,’ अख्तियार प्रमुख राईले भने।
उनले यस विषयमा धेरै खुलाउन नमिल्ने बताए। ‘योभन्दा बढी भन्न मिलेन,’ राईले थपे, ‘उजुरीबारे हेर्दै छौं।’अहिले सात जना पूर्वप्रधानमन्त्री र एक जना मन्त्रिपरिषद्का अध्यक्ष जिवित रहेका छन्। जसमा सुशीला कार्की, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी छन्।




































