विपदको मौकाको फाईदा उठाउन सक्ने भन्दै स्क्यामको जोखिम बाट जोगिन प्रहरीको आग्रह
वि.सं.२०८३ भदौ ११ बिहीवार १५:३६
shares

काठमाडौं । विपद्को संवेदनशील समयमा आम नागरिकबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दूषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने सम्भावनाप्रति नेपाल प्रहरीले सचेत रहन आग्रह गरेको छ ।
‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’ को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका तरिका अपनाउन सक्ने प्रहरीको भनाइ छ ।
यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक ‘राहत कोष’ वा ‘सहयोग अभियान’ का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, ‘राहत सहयोग दर्ता’ का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, ‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनू’ भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन प्रहरीको आग्रह छ ।
कुनै सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेजबाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी मागिए साझा नगर्न साथै अपरिचित व्यक्तिले सहयोग मागे पैसा पठाउनुअघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न पनि अनुरोध गरिएको छ ।
कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागे नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा तत्काल खबर गर्न भनिएको छ ।



































