बाढी प्रभावित क्षेत्रमा सरकारको प्रभावकारी उपस्थिति नै देखिएन : एमाले अध्यक्ष ओली
वि.सं.२०८३ भदौ १९ शुक्रवार १८:४३
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
शुक्रबार विदुरको ढुंगे लगायतका क्षेत्रमा बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्दै अध्यक्ष ओलीले बाढीपीडितको गुनासो समेत सुनेका थिए ।त्यसक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले बाढीका कारण कल्पनै नगरिएका बस्तीहरूमा समेत नदी पसेको र अग्ला घरहरूका छाना नै डुब्ने गरी अकल्पनीय विनाश भएको बताए ।
अध्यक्ष ओलीले उद्धार र राहत मात्र नभई बाटाघाटा, पुल लगायत भौतिक पूर्वाधारको पुनर्निर्माण, पीडितहरूको रोजगारी, जीविका, आवास, शिक्षा र स्वास्थ्यको उचित प्रबन्ध कसरी गर्ने भन्ने गम्भीर चिन्ताको विषय रहेको उल्लेख गरे । बालबालिकालाई तत्काल पठनपाठनको व्यवस्था गर्नुपर्ने तथा नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगीहरूका लागि सम्पर्कविच्छेद भएका ठाउँसम्म स्वास्थ्य सेवा र औषधि पुर्याउनुपर्ने आवश्यकता देखिएको उनले बताए । बाढी प्रभावित क्षेत्रमा सरकारको प्रभावकारी उपस्थिति नदेखिएको उनको भनाइ छ ।
अध्यक्ष ओलीले आकाशमा हेलिकप्टर उडे पनि कहाँ र किन उडिरहेका छन् भन्ने स्पष्ट नभएको र मन्त्रीले हिलोमा मान्छे बोकेको भन्दै एआई सिर्जित नक्कली तस्वीरहरू बनाएर प्रचार र लोकप्रियता कमाउने काम भएको टिप्पणी गरे । जनतालाई प्रचार नभई वास्तविक राहत चाहिएको अध्यक्ष ओलीको भनाइ छ ।




































