कांग्रेसका ३३ जना निर्वाचित प्रतिनिधिहरूले हस्तक्षेप र गुटबन्दी गरेको भन्दै दिए सामुहिक राजिनामा
वि.सं.२०८३ असोज १७ शनिवार १०:४८
shares

विराटनगर / नेपाली कांग्रेसको आन्तरिक अधिवेशनमा गुटबन्दी, असमानता र माथिल्लो तहको हस्तक्षेप भएको भन्दै विराटनगर महानगरपालिका–१९ का ३३ जना निर्वाचित क्षेत्रीय प्रतिनिधिले सामूहिक राजीनामा दिएका छन्।
निवर्तमान वडा सभापति शेषराज राजवंशीको अध्यक्षतामा बसेको बैठकले नेतृत्व चयन प्रक्रिया निष्पक्ष नभएको निष्कर्ष निकाल्दै सामूहिक रूपमा पदत्याग गर्ने निर्णय गरेको हो।प्रतिनिधिहरूले पार्टी नेतृत्वले आफूअनुकूल व्यक्तिलाई अघि सार्दा तल्लो तहका नेता–कार्यकर्ताको भावना र मतलाई बेवास्ता गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार अधिवेशनमा आन्तरिक लोकतान्त्रिक अभ्यास कमजोर पार्दै गुटगत आधारमा नेतृत्व चयन गर्ने प्रयास भएको छ।
विराटनगर–१९ नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेको गृह वडा पनि हो। सोही वडाबाट निर्वाचित सबै ३३ जना क्षेत्रीय प्रतिनिधिले एकैपटक राजीनामा दिएपछि कांग्रेसको आन्तरिक अधिवेशनमा गुटगत राजनीतिलाई लिएर प्रश्न उठेको छ।प्रतिनिधिहरूले पार्टीभित्रको नेतृत्व चयन प्रक्रिया पारदर्शी, निष्पक्ष र तल्लो तहका कार्यकर्ताको भावनाअनुसार हुनुपर्ने मागसमेत गरेका छन्।





































