संसदलाई कठपुतली बनाउन खोजेको एमालेको आरोप, संघर्षकालागि तयार रहन नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन
वि.सं.२०८३ असोज १९ सोमवार ०८:३७
shares

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले शान्तिपूर्ण संघर्षका दुईवटा मोर्चा ‘सडक’ र ‘सदन’ रहेको उल्लेख गर्दै सशक्त आन्दोलन तथा संघर्षका लागि तयारी गर्न सांसदहरूलाई निर्देशन दिएका हुन्।संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा पार्टीले खेलेको ऐतिहासिक भूमिकाका कारण यसको रक्षा गर्ने प्रमुख दायित्व एमालेकै काँधमा रहेको ओलीले बताएका थिए।
आगामी दिनमा प्रत्येक सांसदले विषयवस्तुको गहन अध्ययन तथा तयारी गर्नुपर्ने, विज्ञहरूसँग छलफल गर्नुपर्ने र जनताका मुद्दालाई संसदमा प्रभावकारी रूपमा उठाउनुपर्ने निर्देशनसमेत ओलीले दिएको एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए।बैठकले वर्तमान सरकार लोकतन्त्र, संविधानको रक्षा तथा जनजीविकाका सवालमा प्रभावकारी रूपमा काम गर्न असफल भएको निष्कर्ष निकालेको महरले बताए।
एमालेले सरकार निरन्तर स्वेच्छाचारी तथा तानाशाही बाटोतर्फ उन्मुख भएको आरोप लगाएको छ। बैठकपछि महरले सरकारका गतिविधिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने काम गरिरहेको दाबी गरे।एमालेले सरकारले संसदलाई जनताप्रति उत्तरदायी बनाउन नसकेको, संसदलाई सत्ताको प्रभावमा पारेको तथा जनमतको उपेक्षा गर्दै संसदलाई ‘कठपुतली’ बनाउन खोजेको आरोपसमेत लगाएको छ।



































