बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
वि.सं.२०८३ असोज २२ बिहीवार ०९:२२
shares
DUBAI, UNITED ARAB EMIRATES - DECEMBER 12: (EDITORS NOTE: Image has been digitally retouched) Nana Patekar poses during a portrait session on day three of the 11th Annual Dubai International Film Festival held at the Madinat Jumeriah Complex on December 12, 2014 in Dubai, United Arab Emirates. (Photo by Gareth Cattermole/Getty Images for DIFF)
बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारअनुसार कार्डियक अरेस्टबाट उनको निधन भएको हो ।
आज बिहान ५ बजेर २० मिनेटमा उनको निधन भएको जनाइएको छ । उनलाई बचाउनका लागि ४५ मिनेटसम्म लगातार सीपीआर दिइएको थियो । नाना पाटेकर हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए । उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो । उनी अभिनेता मात्र थिएनन्, फिल्म निर्माता, निर्देशक तथा लेखकका रूपमा पनि सक्रिय रहे । भारतीय सिनेमाका प्रभावशाली अभिनेतामध्ये गनिने नाना पाटेकरले आफ्नो फरक अभिनय शैली र संवाद प्रस्तुतिका कारण छुट्टै स्थान बनाए ।
नाना पाटेकरले सन् १९७८ मा आएको फिल्म ‘गमन’बाट हिन्दी सिनेमामा पाइला राखेका थिए । सुरुवाती चरणमा उनले मराठी र हिन्दी दुवै फिल्ममा काम गरे । सन् १९८८ मा मिरा नायरको ‘सलाम बम्बे !’मा उनको कामले प्रशंसा पायो । त्यसपछि सन् १९८९ को ‘परिन्दा’ उनको करियरको महत्वपूर्ण मोड बन्यो । फिल्ममा उनले निर्वाह गरेको ग्याङ्स्टरको भूमिकाका लागि राष्ट्रिय फिल्म पुरस्कार र फिल्मफेयर अवार्ड जिते ।
नाना पाटेकरले आफ्नो लामो करियरमा अनेक प्रकारका भूमिका निर्वाह गरे । ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित फिल्म हुन् । गम्भीर र दमदार भूमिकामा आफूलाई प्रमाणित गरेका उनले हास्य तथा व्यावसायिक फिल्ममा पनि उत्तिकै प्रभाव छाडे । ‘वेलकम’मा उदय शेट्टीको भूमिकाले उनको अर्को पक्ष दर्शकमाझ लोकप्रिय बनायो ।
नाना पाटेकर पछिल्लो पटक विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर फिल्म ओ’रोमियोमा देखिएका थिए । यस फिल्ममा शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए । सन् २०२६ को फेब्रुअरीमा रिलिज भएको यस फिल्ममा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निभाएका थिए ।


































