बन्द रहेका सरकारी वेबसाइटहरू पुन: सञ्चालनमा आए
वि.सं.२०८३ कात्तिक ९ सोमवार ०९:५६
shares
काठमाडौं । वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामको प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू खुल्न थालेका छन् ।
अहिले प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात कार्यालय, मालपोत, राष्ट्र बैंकसहित अधिकांश सरकारी वेबसाइटहरू खुल्न थालेका छन् ।साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई पीएचपीको सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए । सोही अनुसार नेपालका सरकारी वेबसाइटहरू पनि खुलेका थिएनन् ।
नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच र परीक्षण सम्पन्न भएपछि एक हजार भन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुन: सामान्य रुपमा सञ्चालनमा आएका हुन् । बाँकी रहेका सेवाहरू पनि छिट्टै सञ्चालनमा ल्याउन केन्द्रका कर्मचारीहरू खटिएका छन् ।केन्द्रका अनुसार यो कामका लागि दशैं बिदाको समयमा पनि कर्मचारीहरूले निरन्तर काम गरेका थिए ।





































